सहकारी मार्फत दूधको बजारीकरण भएपछि किसान उत्साहित

बागलुङ ।  बागलुङका दुग्ध उत्पादक किसान करोडौं रुपैयाँ गाउँ भित्र्याउन सफल भएका छन् । हरेक उपभोग्य वस्तु शहर बाट खरिद गर्नु पर्ने अवस्थाका बीच यहाँ दुग्ध किसान भने उल्टै शहरको पैसा गाउँ भित्र्याउन सफल भएका हुन् ।


सहकारी मार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण गरी यहाँका किसानले आर्थिक वर्ष २०८०र८१ मा मात्रै सात करोड बढी रकम गाउँ भित्र्याएका थिए । जिल्लाको काठेखोला र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेर एक वर्षमै  सात करोड ४८ लाख १७ हजारको कारोबार गरे पछि स्थानीय समेत उत्साहित भएका छन् ।

यी दुई पालिकामा मात्रै १४ वटा दुग्ध सहकारी संस्था छन् । तिनमा आबद्ध भएर किसानले आफ्नो उत्पादनलाई बजारीकरण गर्दा आम्दानी गर्न सफल भएका हुन् । काठेखोला गाउँपालिका–५ का केशवप्रसाद कँडेलले दूध उत्पादन गर्न सके जुनसुकै समयमा सहकारीले बजारीकरणको जिम्मा लिने भनेर आश्वस्त पारे पछि आफू जस्ता किसानलाई निकै सहज भएको बताए ।

सोही गाउँपालिका–६ स्थित नमूना दुग्ध उत्पादक सहकारी संस्थाका शेयर सदस्यहरूले मात्रै दैनिक तीन सय ५० लिटर दूध बजारमा पठाउने गरेका छन् । दुग्ध किसान मणिभद्र कँडेलले आफूहरूले उत्पादन गरेको दूध सङ्कलन, प्रशोधन र बजारीकरणको ग्यारेण्टी भएपछि जोडतोडका साथ उत्पादन वृद्धिमा लागेको बताए । 

“विगतमा दूध धेरै उत्पादन भएपछि त्यसै खेर गएको अनुभव हामी सँगै छ । दूधलाई प्रशोधन नगरे टिक्दैन, बजारसम्म पुर्‍याउन समय लाग्छ, बजार टाढा छ, फेरि दुई–चार लिटर दूध बजार पुर्‍याउन पनि गाह्रो । त्यसैले सहकारी मार्फत व्यवस्थापनको काम भएपछि हामी ढुक्क भएका छौँ”, उनले भने, “अब किसानले दूध उत्पादन बढाउने र सहकारीले बजारीकरण गर्ने भएपछि सदाको चिन्ता अन्त्य भएको छ ।  त्यसैमा दूध ढुवानी तथा घाँस ढुवानीमा अनुदान र पशु बीमा कार्यक्रम लागू भएपछि व्यवसाय पनि सुरक्षित भएको छ ।”

चौध सहकारीका शेयर सदस्य किसानले गाउँ–गाउँमा सङ्कलन गरेको दूध एकमुष्ट बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले सङ्कलन, प्रशोधन तथा बजारीकरण गर्दै आएको छ । सङ्घले एक आर्थिक वर्षमा मात्रै १४ सहकारीका शेयर सदस्य किसान बाट  सात करोेड ४८ लाख १७ हजारको दूध खरिद गरेको अध्यक्ष दीपक गौतमले बताए । यी सहकारीमा आबद्ध करिब एक हजार चार सय किसानले एक वर्षमै उक्त रकम पाएको उनले बताए ।

त्यस्तै, निःशुल्क दूध ढुवानी, पशुधन सुरक्षण कार्यक्रम, घाँस ढुवानी, बीमा र पशु औषधि वितरणले किसानलाई थप लाभ मिलेको र यसले दूधमा आत्मनिर्भर जिल्ला बनाउन ठूलो सहयोग पुगिरहेको अध्यक्ष गौतमको भनाइ छ । “किसानहरूले दूध उत्पादन गर्ने तर, बजारको सुनिश्चितता नहुने मुख्य समस्या थियो । दूध भण्डारण, प्रशोधनमा ध्यान नदिँदा दूध बिग्रेर जाने समस्या थियो, जसले गर्दा किसानले यस क्षेत्रमा लगानी गर्न सकिरहेका थिएनन् ।  हामीले बजारको ग्यारेण्टी गरेपछि समस्या समाधान भएको छ”, उनले भने, “किसान बिचौलियाको मारमा पर्ने समस्या पनि हटेको छ । हाल किसान बाट सङ्कलन गरेको तीन देखि चार हजार लिटर दूध दैनिक बजारीकरण हुने गरेको छ ।”

विसं २०५७ मा स्थापना भएको सहकारी सङ्घमा हाल १६ जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । दूधलाई सङ्कलन, बिक्री, बचेको दूधको दुग्धजन्य पदार्थ घ्यू, नौनी, छुर्पी, लस्सी, पनिर र आइसक्रिम बनाएर बिक्री गर्ने काम पनि भइरहेको सङ्घका सचिव गोविन्दप्रसाद सापकोटाले जानकारी दिए ।

सङ्घले दूध सहित नौ प्रकारका दुग्धजन्य परिकार बिक्री तथा वितरण समेत गर्दै आएको उनले बताए । “यो एक अभियान पनि हो । यसबाट किसानको घरमा सोझै रकम पुग्ने गरेको छ । केहीले गाउँमै रोजगारी पाएका छन् । गत आर्थिक वर्षमा सङ्घले रु ८० लाख ६१ हजार खुद बचत गर्न सफल भएको थियो । सो रकम बाट किसानको पशु बीमा, दूध तथा घाँस ढुवानी र पशु प्रवर्द्धनात्मक काममा लगानी गरिरहेका छौँ”, सचिव सापकोटाले भने । 

रासस

प्रतिक्रिया