खानेपानी मन्त्री यादव द्वारा मन्त्रालय र विभागमा छड्के जाँच
काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले आज मन्त्रालय एवं खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा छड्के जाँच गरेका छन् ।
दशैं बिदा सकिएसँगै सरकारी कार्यालय खुलेको दुई दिन बित्दासमेत कार्यालयमा कर्मचारी उपस्थित नभएको गुनासो आउन थालेपछि मन्त्री यादवले आज मन्त्रालय एवं विभागका सम्पूर्ण शाखाहरुमा छड्के जाँच गरेका छन् ।
उक्त जाँचका क्रममा खानेपानी मन्त्रालयमा ११ र खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा दुईगरी १३ जनाबिना जानकारी अनुपस्थित भएको पाइएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिए ।
उनले भने, “मन्त्रीले आज आकस्मिक छड्के जाँच गर्नुभएको थियो, सो क्रममा मन्त्रालय र विभागमा १३ जना अनुपस्थित भएको देखिएको छ । अनुपस्थित हुनुका कारण बुझनुपर्ने हुन्छ ।”
उक्त छड्के जाँचका क्रममा मन्त्री यादवले काम गर्दा वा अन्य कुनै समयमा समस्या भएमा तत्काल आफूलाई जानकारी गराउन कर्मचारीहरुलाई आग्रह गरेका थिए ।
प्रतिक्रिया