राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

भक्तपुर ।  बडादशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित नवदुर्गा मन्दिर पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गरेका ।  

सो अवसरमा प्रथम महिला सविता पौडेल पनि सहभागी थिइन् । राष्ट्रपति पौडेललाई नवदुर्गा मन्दिरका मूल नाइके सूर्यमान वनमाला, मूल पुजारी रमेश कर्माचार्य लगायत सहायक नाइकेहरुले नवदुर्गाको प्रसाद प्रदान गरेका थिए ।   राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन समेत गरेका थिए ।

राष्ट्रपतिले नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद, फूलमाला, बिमिरा र पञ्चरङ्गी धागो प्रसादस्वरुप ग्रहण गरेका थिए । नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई राष्ट्रपतिले दक्षिणा समेत प्रदान गरेका थिए ।

त्यसैगरी, राष्ट्रपतिलाई तलेजु मन्दिरका मूल नाइके नरेन्द्रप्रसाद जोशीले तलेजुको फूल, माला तथा प्रसाद प्रदान गरेका थिए । राजा हरिसिंह देव र रानी देवलदेवीले सिम्रणगढ बाट ल्याएको मूल भक्तपुर तलेजुको प्रसाद र एकान्त कुमारीको प्रसाद राष्ट्रपति पौडेललाई प्रदान गरेको जोशीले बताए । 

मल्लकालदेखि राजा, महाराजाहरुले नवदुर्गाको पूजा, अर्चना गर्दै आए पनि बीचमा यो परम्परा खण्डित भएको बताइन्छ । २०४५ सालमा भूकम्प आएपछि दैवीप्रकोपको घटनाले देश र जनताको हित एवं कल्याणका निमित्त तत्कालीन राजाहरुले  राष्ट्र प्रमुखको हैसियतमा र गणतन्त्र आएपछि राष्ट्रपतिले यो पूजाअर्चनालाई निरन्तरता दिन थालेको नवदुर्गा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नारायणप्रसाद वनमालाले जानकारी दिए । नवदुर्गा अन्तर्गत ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीको पूजा गरिन्छ ।

प्रतिक्रिया