मीनबहादुरले स्वेच्छाले जग्गा दान गर्नुभएको हो, कुनै लेनादेना छैन: एमाले

काठमाडौँ। पार्टी केन्द्रीय कार्यालय भवन निर्माणका लागि प्राप्त जग्गाका विषयलाई लिएर भएका छलफल, बहस र टिप्पणीप्रति नेकपा एमालेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति जारी गर्दै जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका अतिशयोक्तिपूर्ण टीकाटिप्पणीहरू खेदजनक भएको दाबी समेत गरेका छन् ।

‘७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका लान्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भर्त्सनायोग्य छ’, गौतमले जारी गरेको विज्ञप्तिमा भनेका छन् ।
साथै एमालेले जग्गा दाता व्यवसायी मीनबहादुर गुरुङ विद्यार्थीकालदेखि धरानमा अध्ययन गर्दा नै अनेरास्ववियु र स्ववियुको सक्रिय कार्यकर्ता रहेको बताएको छ । ‘नोकरीको सिलसिलामा नेपाल बैंक लिमिटेडमा कार्यरत रहँदा बैंकिङ सेक्टरको केन्द्रीय कार्यसमितिको सदस्य भई काम गरेको, अन्तरसंस्थानको केन्द्रीय कोषाध्यक्ष भई ट्रेड युनियन आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी पार्टीको वैचारिक र राजनीतिक सामीप्यमा रही कार्य गरेको तथ्य जगजाहेर छ’, गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 एमालेले गुरुङका नाममा विचाराधीन रहेको मुद्दाका बारेमा गुरुङले नै फेस गर्ने र संविधान र कानुनभन्दा माथि कोही नरहेको पनि जनाएको छ ।

‘अन्तरमनबाट पारदर्शी र खुल्ला दिलले उहाँले दान गर्नुभएको जग्गालाई हामीले स्वीकार गरेका हौं । यसमा कुनै किसिमको पनि सौदाबाजी र लेनादेना छैन । वहाँका नाममा विचाराधीन रहेका मुद्दाहरूको बारेमा उहाँ आफैँले फेस गर्ने हो, संविधान, कानुनभन्दा माथि कोही पनि छैन’, एमालेको भनाइ छ ।  

लोकतान्त्रिक मुलुकहरूमा पनि आमरुपमा व्यवसायी व्यक्तित्वहरूबाट सहयोग गर्ने परम्परा र अभ्यास रहेको दाबी गर्दै एमालेले यसलाई अन्यथा ठानेर सार्वजनिक खपत, कथित शुद्धतावादका नाममा गरिने तर्क–वितर्कको कुनै औचित्य नरहेको जनाएको छ ।

प्रतिक्रिया