इरानमाथि जवाफी आक्रमण गर्ने इजरायलको तयारी

एजेन्सी । इजरायलले आफ्नो देशमा इरानले यही अक्टोबर १ मा गरेको आक्रमणको जवाफ दिने तयारी गरेको बताइएको छ । 

अमेरिकी समाचार सीएनएनका अनुसार इरानले अक्टोबर १ मा गरेको आक्रमणको जवाफ दिने इजरायलको योजना तयार रहेको यस मामिलामा जानकार एक स्रोतले जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सहितका इजरायली अधिकारीहरूले इरानमाथिको प्रतिआक्रमण तेल वा आणविकक भट्टीको  सट्टा सैन्य लक्ष्यमा मात्र सीमित हुने अमेरिकालाई आश्वासन दिएका छन् ।

हिजबुल्लाहका नेता हसन नसरल्लाह, हमासका राजनीतिक नेता इस्माइल हनिया  र अन्यको मृत्युको बदलामा इरानले इजरायलतर्फ अक्टोबर १ मा ८० वटा क्षेप्यास्त्र प्रहार गरेको थियो ।नेतान्याहूले इरानले उक्त आक्रमणको ’मूल्य’ चुकाउने प्रतिबद्धता जनाएका थिए ।हिजबुल्लाहले उत्तरी इजरायलका विभिन्न क्षेत्रमा रातारात रकेट प्रहार गरेको बताएको छ भने इजरायली सेनाले लेबनानबाट प्रहार गरिएका दर्जनौँ क्षेप्यास्त्र पहिचान गरेको जनाएको छ ।इजरायली डिफेन्स फोर्सेज (आईडीएफ) ले आज बुधबार बिहान  ५० वटा ’प्रोजेक्टाइल’ इजरायली भूमिमा प्रवेश गरेको पत्ता लागेको जनाएको छ ।

सन् २०२३ अक्टोबर ७ मा प्यालेष्टिनी लडाकू समूह हमासले इजरायमाथि एक्कासी आक्रमण गरेर १२ सय इजरायली नागरिकको हत्या गरेको थियो भने २ सय ५० जनालाई अपहरण गरेको थियो । त्यसपछि इजरायल र हमासबीचको युद्ध जारी छ । हमासलाई विश्वकै शक्तिशाली मानिने लेवनानको   मुस्लिम लडाकू समूह हिजबुल्लाहले हातहतियार सहित सघाइरहेको छ । हिजबुल्लाहलाई भने इरानले सघाइरहेको छ । इजरायलले हिजबुल्लाह लक्षित आक्रमण तीब्र पारेपछि इरानले अक्टोबर १ मा इजरायमाथि  क्षेप्यास्त्र प्रहार गरेको थियो ।  


 

प्रतिक्रिया