विपद पछिको पुनः निर्माण र पुनः व्यवस्थापनको काम छिट्टै अघि बढ्छ: प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री के.पी. शर्मा ओलीले हालैको बाढी पहिरो र डुुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनको काम अघि बढाइने बताएका छन् । 

प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनःनिर्माणबारे बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुुझ्दै प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद र मन्त्रिपरिषदको बैठकबाट प्रारम्भिक राहत तथा अस्थायी आवास र पुल निर्माणबारे निर्णय गरिने जानकारी गराए । उनले बाढी र पहिरोका कारण काठमाडौंं जोड्ने विभिन्न सडक अवरुद्ध भएकामा सोचे भन्दा छिटो गतिमा काम गरेर अस्थायी रुपमा सडक सञ्चालनमा आएको उल्लेख गरे ।  

प्रधानमन्त्री ओलीले सीमित बजेटका बावजुद सकभर मागेर भन्दा आफ्नै बलबुतामा पुनः निर्माण र पुनःव्यवस्थापनका कामहरु गर्नुपर्नेमा जोड दिए। 

सो अवसरमा सहभागी प्रतिनिधिमण्डलले  खोटाङलाई तराई हुँदै प्रदेशको राजधानी जोड्ने सुनकोशी नदीको एक मात्र मोटरेबल फोक्सिङटार पुल सञ्चालनमा आएको दुुई वर्ष नपुुग्दै बाढीले बगाएपछिको जिल्लाको अवस्थाबारे प्रधानमन्त्री ओलीलाई अवगत गराएको थियो । 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल समेत सहभागी रहेको सो भेटघाट कार्यक्रममा सांसदहरु रामकुमार राई, सरस्वती बजिमय, कोशी प्रदेश सांसदहरु, दिक्तेल रुपाकोट मझुुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई लगायत उपस्थित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया