राष्ट्रियसभा अध्यक्ष र स्विस नेसनल काउन्सिलका अध्यक्ष बीच भेटवार्ता

काठमाडौं ।  राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाल र स्विजरल्यान्डको नेसनल काउन्सिलका अध्यक्ष एरिक नसबाउमर बीच भेटवार्ता भएको छ ।

अन्तर–व्यवस्थापिका सङ्घको महासभामा भाग लिन जेनेभा पुग्नुभएका अध्यक्ष दाहाल र स्विस नेसनल काउन्सिलका अध्यक्ष एरिकबीच भएको भेटमा उहाँहरुबीच द्विपक्षीय र आर्थिक सम्बन्ध, अन्तर्राष्ट्रिय मुद्दा, बहुपक्षीय सहयोगबारे छलफल भएको सङ्घीय संसद सचिवालयले जनाएको छ ।

त्यस अवसरमा नेपालको शान्ति प्रक्रियामा स्विस सरकारबाट भएको सहयोगको स्मरण गर्दै उनीहरुबीच विचार–विमर्श भएको थियो । सो अवसरमा अध्यक्ष दाहालले नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रियामा स्विस सरकारले महत्वपूर्ण सहयोग गरेको उल्लेख गर्दै नेपाली जनताका तर्फबाट धन्यवाद व्यक्त गरे  । 

संयुक्त राष्ट्रसङ्घ, आइपियू लगायत बहुपक्षीय मञ्चमा दुई देशका साझा धारणा, सहयोग र सहकार्यको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पारस्परिक हित र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ पार्न द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा स्विट्जरल्यान्ड सँग काम गर्न नेपाल सधैँ तयार रहेको बताए । प्रत्यक्ष लोकतन्त्र र सङ्घीयताको अभ्यासमा स्विट्जरल्यान्ड विश्वकै सफल उदाहरण भएको चर्चा गर्दै उनले भने, “सङ्घीय गणतन्त्रका रुपमा भर्खरै अभ्यास गरिरहेको नेपाल स्विट्जरल्यान्डका असल अभ्यास बुझ्न र सिक्न प्रयासरत छ । हामी लोकतन्त्रको सुदृढीकरण र लोकतान्त्रिक संस्थालाई जनस्तरसम्म सुदृढ गर्न प्रयास गरिरहेका छौँ ।”

राज्यको शासकीय संरचनामा सीमान्तकृत वर्गको सहभागिता गराउन समावेशी सिद्धान्त लागू गरिरहेको उल्लेख गर्दै उनले सङ्घीय संसद् र प्रदेशसभामा ३३ प्रतिशत तथा स्थानीय तहमा ४१ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरिएको बताए । 


–––

प्रतिक्रिया