धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव सङ्कलन थालियो

म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचजना रसियन पर्वतारोहीको शव सङ्कलन गर्न थालिएको छ ।  

सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा भेटिएका ती पर्वतारोहीको शव उठाउन थालिएको हो । एयर अल्टिच्युडको हेलिकप्टर बाट हिमालमा पुगेका शेर्पाको टोलीले घटनास्थल बाट शव उठाउन थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए । 

सेभेन समित ट्रेकका सञ्चालक मिङ्मा शेर्पाको नेतृत्वमा पाँच जना शेर्पाहरुको टोल शव उठाउन खटिएका छन् । घटनास्थल बाट इटाली आधार शिविरमा बुधबार बिहान ११ बजे सम्म एक वटा शव झारेका र अन्य शव सङ्कलन गरेर आधार शिविरमा ल्याउने तयारी भएको  श्रेष्ठले बताए । 

आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइ बाट यही असोज २१ दिउँसो ११ बजे देखि सम्पर्क विहीन भएका थिए । प्रहरीका अनुसार रसियन अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।

हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण सङ्कलन गरेर घटनास्थल बाट ल्याउन ढिलाइ भएको हो । उद्धारकर्ताहरु हेलिकप्टर बाट रसीमा झुन्डिएर शव भएको ठाउँमा पुगेका हुन् । 

आइ एम ट्रेकिङ एन्ड एक्सपिडिसन मार्फत १४ रसियाका पुरुष पर्वतारोहीहरु धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । दुई जनाले सफल आरोहण गरेका थिए । सात जना पर्वतरोहीहरुले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए । 

यसअघि शव ल्याउन हिमालमा गएको हेलिकप्टर रित्तै फर्किएको थियो । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । पर्यटन विभागका अनुसार चालु शरद्याममा रसियाका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए । 
रासस 

प्रतिक्रिया