राष्ट्रिय सभा अध्यक्ष दाहाल र थाई सिनेट अध्यक्ष सुरसज्जा बिच भेटवार्ता

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र थाइल्याण्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जाबिच द्विपक्षीय भेटवार्ता भएको छ । 

अन्तर–व्यवस्थापिका सङ्घको महासभामा सहभागी हुन स्वीट्जरल्याण्डको जेनेभा पुगेको थाई संसदीय टोली र दाहाल नेतृत्वको नेपाली संसदीय टोलीबिच भेटवार्ता भएको हो।

भेटवार्तामा दुई देश बिचको सम्बन्ध, आपसी हितका साथै आगामी दिनमा गर्न सकिने सहकार्य र सहयोगका बारेमा छलफल भएको बताइएको छ । सो अवसरमा राष्ट्रिय सभा अध्यक्ष दाहालले नेपाल र थाइल्याण्ड बिचको कूटनीतिक सम्बन्ध मैत्रीपूर्ण रहेको चर्चा गर्दै लुम्बिनी, गौतम बुद्ध र बौद्ध धर्मले नेपाल र थाइल्याण्डका जनता बिच बलियो सम्बन्ध सेतुको काम गरेको बताए। 

यस्तै, सो अवसरमा थाइल्यान्ड सिनेटका अध्यक्ष सुरसज्जाले नेपाली संसदीय टोलीसँगको भेट र सम्मानले आफूलाई निकै खुसी लागेको बताएका छन् । 

भेटवार्तामा संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनहरूका लागि नेपालका स्थायी प्रनिनिधि रामप्रसाद सुवेदीका साथै प्रतिनिधिमण्डलका अन्य सदस्य पनि सहभागी थिए । 

प्रतिक्रिया