सहयोग नपाएको सुनसरीका बाढी पीडितको गुनासो

सुनसरी । हालैको अविरल वर्षाका कारण भोक्राहा नरसिंह गाउँपालिका–३ की ५० वर्षीया परमिला खत्वेको घरमा पाँच फिट सम्म पानी जमेको थियो । वर्षा सँगै बाढी घरमा पसे पछि अन्नपात भेलमा बग्यो भने ओढ्ने ओछ्याउने पनि लगातारको झरीले हप्तौँ सम्म अख्रन पाएनन् । विपद्का बेला कसैले सहयोग नगरेको र तीन दिन सम्म भोकै बस्नुपरेको पीडा गहभरि आँसु पारेर उनले सुनाइन् । 

सोही स्थानकी कुमारी खत्वेको अवस्था पनि उस्तै रह्यो । सहायता सामग्री वितरणमा पालिकाले विभेद गरेकामा उनी क्रुद्ध छिन् । स्थानीय सरकार बाट सहयोग नपाउने परमिला र कुमारी खत्वे भोक्राहा नरसिंह गाउँपालिकाका प्रतिनिधि पात्र हुन्।  नरसिंह गाउँपालिकाका अधिकांश बाढी पीडितले राज्य बाट सहायता नपाएको गुनासो  गरेका छन् । 

राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले बाढी पीडितलाई प्रतिपरिवार १५ हजारका दरले वितरण गरेको भए पनि वास्तविक पीडितले उक्त रकम नपाएको भोक्राहा नरसिंह गाउँपालिका ७ का धीरेन्द्र कामैतले बताए। 

बाढी बाट पीडित नभएकालाई सहयोग गरेको भोक्राहा नरसिंह गाउँपालिका–७ का अर्का पीडित चमरु मण्डलले गुनासो गरे । पहुँचका आधारमा सहायता रकम वितरण गरिएको उनको दाबी छ । 

यसैबीच, बाढी पीडितले राज्यका कुनै निकाय बाट सहयोग नपाए पछि भोक्राहा नरसिंह गाउँपालिका–३ नम्बर वडा कार्यालयमा सोमबार विरोध प्रदर्शन गरेका थिए । साथै उनीहरूले वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय ताराचन मण्डलले बताए । 

वडाध्यक्ष धीरेन्द्रकुमार यादवले आन्दोलनमा उत्रेकालाई लाभग्राहीको नाम शुक्रबार सम्ममा उपलब्ध गराउने र वार्ताको माध्यम बाट समस्या समाधान गर्ने बताए । 

बाढीबाट भोक्राहा नरसिंह गाउँपालिकामा एक हजार दुई सय ९३ घर प्रभावित भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
रासस  

प्रतिक्रिया