सिलौटो बेचेर मासिक ४० हजार आम्दानी

धरान  । सुनसरीको इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज सिलौटा बनाउँदै गरेको अवस्थामा भेटीए । उनी लोहोरो, जाँतो, सिलौटो लगायत सामग्री बनाएर बिक्री गर्दै आइरहेका छन् ।  सन्तराजले यही व्यापार बाट जीविकोपार्जन गर्दै आएका छन् । 

उनले भने, “सिलौटा बनाउने हाम्रो पुख्र्यौली पेसा नै हो । तीन पुस्ता देखि गरिँदै आएको पेसालाई मैले पनि निरन्तरता दिँदैआएको छु ।”

इटहरी बजारको व्यस्त सडकमा चर्को घाममा सन्तराज ढुङ्गाका सामाग्री बिक्री गर्दै आएका छन् । नजिकैको खोला किनारमा प्लास्टिकको छानोमुनि दिनभर घन र छिनोको साहायता बाट उनले ढुङ्गालाई विभिन्न आकार दिनुका साथै बुट्टा भर्दै आएका छन्। उनले खोलाको किनारमा ती सामग्री बिक्रीका लागि लहरै राखेका छन् । 

“विदेशमा गएर दुःख गर्नु भन्दा यही पुख्र्यौली पेसा सिलौटो व्यापार बाट आम्दानी गर्दै आएको छु, दिनभर यही बसेर सामाग्री तयार गर्छु, बेलुका घर फर्किन्छु । अहिले सम्म यही व्यापार बाट परिवारलाई खान लाउन पुगेको छ । आम्दानी सँगै आत्मसन्तुष्टि पनि मिलेको छ”, सन्तराजले भने । 

सन्तराजले दैनिक तीन देखि चार जोर सम्म लोहोरो र सिलौटा बनाउँदै आएका छन् । “कहिले चार÷पाँच वटा सम्म बिक्री हुन्छ कहिले कत्ति पनि बिक्री हुँदैन । व्यापार हो, सधैँ एकनास हुँदैन”, उनले भने । लोहोरो, जाँतो, सिलौटा लगायत सामग्री बिक्री गर्न सन्तराज जिल्लाका विभिन्न ठाउँ पुग्ने गरेका छन् । सिलौटो बनाउने ढुङ्गा मोरङको केराबारी, जाँते, लेटाङ, धुलाबारी लगायतका स्थान बाट ल्याउने गरेको उनले बताए । 

व्यापार बाट घर खर्च कटाएर मासिक ४० हजार सम्म आम्दानी हुँदै आएको सन्तराजले बताए । उनले एउटै ठाउँलाई व्यापार गर्ने थलो बनाएका छन् । छोराले पनि उनलाई  साथ दिँदै  आएका छन् । “पुख्र्यौली पेसाको संरक्षण पनि भयो । साथमा आम्दानी पनि हुने भएकाले यो पेसालाई निरन्तरता दिएको हुँ”, उनले भने । 

सन्तराजले केही सामान ग्राहकको मागअनुसार बनाउने गरेका छन् ।  एउटा सिलौटो तथा जाँतो बनाउन एक घण्टा देखि डेढ घण्टा सम्म लाग्छ । उनले  एउटा सिलौटो  चार सय देखि  ५ सय ५० सम्ममा बिक्री गर्दै आएका छन् । । एक जोर जाँतो  एक हजार देखि  एक हजार तीन सय सम्ममा बिक्री गर्दै आएका छन् । 

पछिल्लो समय आफ्नो व्यवसाय सङ्कटमा पर्दै गएको उहाँको भनाइ छ । कुटानी पिसानीका लागि विभिन्न उपकरण बजारमा आए सँगै सन्तराजको पेसा सङ्कटमा परेको हो । 
रासस 

प्रतिक्रिया