मौसमी प्रणालीको प्रभावल केही दिन निरन्तर वर्षाको सम्भावना

काठमाडौं उपत्यकासहित देशभर मनसुनी वर्षा भइरहेको छ । मुलुकमा मनसुनी वायुको आंशिक प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले देशका आधिकांश स्थानमा वर्षा भइरहेको हो । मौसमी प्रणालीको प्रभावले अझै केही दिन निरन्तर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार राति पनि कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्यांङसहित भारी वर्षाको सम्भावना रहेको छ । नेपालमा मनसुन गत वर्ष जेठ ३१ गतेदेखि प्रवेश गरे पनि देशभर फैलिन झन्डै दुई साता लागेको थियो । मनसुन प्रभावकारी नहुँदा पछिल्लो एक साता राम्रोसित वर्षा हुन सकेको थिएन । विगत दुई दिनयता भने देशका सबैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार साउन ६ गतेसम्म देशभर ३७ प्रतिशत मनसुनी वर्षा भएको छ । गत जेठ १८ देखि साउन ५ गतेसम्म देशभर सरदर ५३८.२ मिलिमिटर वर्षा भएको छ । मनसुन अवधिभर नेपालमा एक हजार ४६२ मिलिमिटर वर्षा हुने गरेको शाखाले जनाएको छ ।
 

प्रतिक्रिया