पर्वत र म्याग्दी जोड्ने माझफाँट–लेकफाँट सडक धमाधम कालोपत्र हुँदै

म्याग्दी । बेनी देखि पर्वतको जलजला गाउँपालिकाको माझफाँट–लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चे सम्म पुग्ने सडक धमाधम कालोपत्र भइरहेको छ । 

सङ्घीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजना अन्तर्गत पर्वतको जलजला गाउँपालिकाको मल्लाज देखि लेकफाँट खण्डमा कालोपत्र गरिएको हो । जलजला गाउँपालिका–३ का वडाध्यक्ष एकीन्द्र खत्रीले मल्लाजको भुरतुला स्थित स्वास्थ्य चौकी देखि भुवानीपानी सम्म एक किलोमिटर चार सय मिटर कालोपत्र भइसकेको सडकको थप दुई किलोमिटर पनि कालोपत्र गर्न  ‘प्राइम’ र ‘फस्ट कोट’ विच्छ्याइएको जानकारी दिए । 

माझफाँटको भुरतुला देखि लेकफाँटको गिद्धेश्वर क्षेत्र सम्मको सात दशमलब आठ किलोमिटर सडक स्तरोन्नति सहित डिबिएसडी प्रविधिको कालोपत्र गर्न ३३ करोडमा सम्झौता भएको उनले बताए । 

दुई लेनको सडकमा एक किलोमिटर भन्दा ढलान भइसकेको छ । छ किलोमिटर आठ सय मिट विस्तारका साथै संरक्षण पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण पनि पूरा भएको छ । गिद्धेश्वर तर्फ एक किलोमिटर सडक फराकिलो बनाउन बाँकी छ । 

यसैबीच, बेनी–भुरतुला खण्डको अप्ठ्यारो ठाउँको सडक ढलान सहित स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा ५० लाख विनियोजन भएको योजना कार्यान्वयनको चरणमा रहेको जलजला गाउँपालिकाले जनाएको छ । 
रासस 

प्रतिक्रिया