इजरायली सेना द्वारा पूर्वी लेबनानमा आक्रमण शुरु

एजेन्सी । इजरायली सेनाले पूर्वी लेबनानमा आक्रमण सुरु गरेको लेबनानले जनाएको छ । 

हिजबुल्लाहले मंगलबार रब त्लातिन गाउँको बाहिरी भागमा हस्तक्षेप गर्न खोजिरहेका इजरायली सेना सँग झडप भएको जानकारी गराएको छ । इजरायलले मंगलबार बिहान बाट पूर्वी उपत्यकामा हवाई आक्रमणलाई तीव्र गरेको छ । 

रेडक्रसको अन्तर्राष्ट्रिय समितिका क्षेत्रीय निर्देशक, निकोलस भोन आर्क्सले सोमबार एम्बुलेन्स र अन्य स्वास्थ्य सुविधाहरू र कर्मचारीहरूको सुरक्षाका लागि आग्रह गर्दै उनीहरू माथि भएको आक्रमणलाई “चिन्ताजनक“ विषय रहेको बताएका छन । इजरायली सेनाले हिजबुल्लाहको गढका साथै लेबनानका अन्य भाग लक्षित आक्रमण सुरु गरेको हो । जसमा उत्तरी इसाई बहुल गाउँ पनि समावेश छ । सो स्थानमा सोमबार कम्तिमा २१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाह प्रति कुनै दया नगर्ने वाचा गरेपछि दुई समुह बीच द्वन्द्व चर्किएको हो । प्रधानमन्त्रीको प्रतिज्ञा  इरान समर्थित लेबनानी समूहले इजरायली आधारमा गरेको ड्रोन हमलामा चार सैनिक मारिएको एक दिन पछि आएको हो । 

हाइफाको दक्षिणमा बिन्यामिना नजिकैको आधारको भ्रमणका क्रममा नेतान्याहूले बेरुत सहित लेबनानका सबै भागमा हिजबुल्लाह माथि आक्रमण जारी गर्ने बताएका हुन् । इजरायलले गत महिना सीमापार भूमि सेना पठाउनु अघि लेबनानमा आफ्नो बम आक्रमण बढाएको छ । 

लेबनानको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार युद्धमा १ हजार ३ सय १५ जनाको मृत्यु भएको छ । युद्धले ६ लाख ९० हजार मानिस विस्थापित भएका छन् । 

प्रतिक्रिया