उत्तर कोरिया सँगको रक्षा सम्झौता स्पष्ट : रुस

एजेन्सी । क्रेमलिनले मङ्गलबार उत्तर कोरियासँगको आफ्नो रक्षा सम्झौताको अर्थ स्पष्ट रहेको बताएको छ । 

प्योङयाङले दक्षिण कोरियातर्फ जाने सडकहरू नष्ट गरेपछि तनाव बढेको बेला क्रेमलिनको उक्त टिप्पणी आएको हो । उत्तर कोरियाले मङ्गलबार अत्यन्त प्रतीकात्मक सडकहरूमा खण्डहरू नष्ट गरेको थियो । यसको जवाफमा सोलले ‘प्रति–आक्रमण’ अभियान सञ्चालन गरेको थियो । 

जुन महिनामा रुस र उत्तर कोरियाबीच हस्ताक्षर गरिएको सम्झौताका बारेमा सोधिएको प्रश्नमा क्रेमलिनले शब्दावली स्पष्ट पार्न आवश्यक छैन भनेको छ । उक्त सम्झौताले कुनै पनि मुलुकले आक्रमणको सामना गर्नुपरेमा पारस्परिक सहायता प्रदान गर्ने व्यवस्था गरेको छ । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्योङयाङको भ्रमणमा उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए । हस्ताक्षर कार्यक्रममा उत्तर कोरियाली नेता किम जोङ उनलाई पुटिनले उत्तर कोरियाको ‘सबैभन्दा प्रिय मित्र’ भनेर प्रशंसा गरेका थिए । 

उत्तर कोरियाले मस्कोलाई युक्रेनमा प्रयोग गर्न हतियार दिइरहेको पश्चिमी मुलुकहरूको विश्वास छ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत साता प्योङयाङलाई आफ्नो मुलुकमा सैनिक पठाएको आरोप लगाएका थिए । 

पुटिनले उत्तर कोरियासँगको सम्झौता अनुमोदन गर्न विधायकहरूलाई एउटा विधेयक पठाएको छ तर धेरै विवरण अझै अस्पष्ट छन् । विधेयकमा प्योङयाङ रुसको आणविक छाता अन्तर्गत पर्नेछ कि छैन भन्ने कुरा पनि समावेश छ । 


 

प्रतिक्रिया