बीमा कम्पनीद्वारा लम्पी स्किनबाट मरेका पशुको बिमा रकम दिन आलटाल
सरकारले महामारी भनेपछि समस्या
बिमा कम्पनीले लम्पी स्किनबाट मरेका पशुको बिमा रकम दिन छाडेका छन ।पशु सेवा विभागले लम्पी स्किनलाई महामारी भनेपछि दाबी भुक्तानी अन्योलमा परेको हो । माहामारीका कारण पशु मरे बिमा रकम दिने व्यवस्था विश्वभर नै नरहेको पशुसेवा विभागले जनाएको छ । जुनसुकै रोगलाई महामारी भनेर घोषणा गर्न मन्त्रिपरिषद्ले नै निर्णय गर्ने व्यवस्था छ । तर विभागले भने विज्ञप्तिमार्फत् लम्पी स्किनलाई ‘महामारी’ घोषित गरेको भन्दै किसान आक्रोशित छन । महामारीबाट हुने क्षतिको दायित्व सरकारमै हुने मान्यता बीमा कम्पनीको छ । विभागले महामारी भनेर व्याख्या गरेपछि अधिकांश बिमा कम्पनीहरूले लम्पी स्किनको संक्रमणबाट मरेका पशुको बिमा भुक्तानी रोकेका हुन । पशु सेवा विभागका प्रवक्ता चन्द्रप्रसाद ढकालले लम्पी स्किनलाई महामारी घोषणा नगरिएको दाबी गरेो छ । महामारी घोषण गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको, तर महामारी घोषण भइ नसकेको विभागको भनाइ छ । अहिले गाइ–भैंसीमा लाग्ने लम्पी स्किन ७७ जिल्लामै पुगिसकेको छ। लम्पी स्किनबाट १० लाख ५४ हजार पशु संक्रमित भएका छन् । जसमध्ये ७ लाख ६८ हजार ४१ पशु निको भइसकेका छन् भने ४८ हजार १ सय ३३ गाइ–भैँसी मरेको विभागले जनाएको छ । नेपाल पशु चिकित्सा परिषद्ले गरेको एक अध्ययनअनुसार देशभर अहिलेसम्म लम्पी स्किनबाट ३८ अर्ब ४१ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । संक्रमण फैलिनबाट रोक्ने एलएसपी भ्याक्सिन देशैभर ३ लाख १ हजार २ सय ४६ पशुमा लगाइएको पशु सेवा विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार हालसम्म करिब ११ लाख डोज खोप स्टक छ । निजी क्षेत्रका ४ वटा कम्पनीले जोर्डन, टर्कीबाट लम्पी स्किनविरुद्धको खोप आयात गरेको विभागको भनाइ छ । सरकारले रोग नियन्त्रणका लागि हरेक स्थानीय तहलाई १ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।संक्रमण दर फैलिँदै गए करिब ९० लाख डोज खोप आवश्यक पर्ने नेपाल पशु चिकित्सा परिषद्को प्रक्षेपण छ ।
प्रतिक्रिया