लेबनानमा इजरायली आक्रमण तीव्र, हिजबुल्लाहमाथि दया नगर्ने प्रधानमन्त्री नेतान्याहूको प्रतिज्ञा

एजेन्सी । इजरायली सेनाले मङ्गलबार पूर्वी लेबनानमा आक्रमण सुरु गरेको लेबनानको आधिकारिक सञ्चारमाध्यमले जनाएको छ । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहप्रति कुनै दया नगर्ने वाचा गरेपछि दुई समुहबीच द्वन्द्व चर्किएको हो । प्रधानमन्त्रीको प्रतिज्ञा इरान समर्थित लेबनानी समूहले इजरायली आधारमा गरेको ड्रोन हमलामा चार सैनिक मारिएको एक दिनपछि आएको हो  ।“हामी बेरुतसहित लेबनानका सबै भागमा हिजबुल्लाहमाथि आक्रमण गर्न जारी राख्नेछौँ“, हाइफाको दक्षिणमा बिन्यामिना नजिकैको आधारको भ्रमणका क्रममा नेतान्याहूले भने ।

हिजबुल्लाहले मङ्गलबार रबत्लातिन गाउँको बाहिरी भागमा हस्तक्षेप गर्न खोजिरहेका इजरायली सेनासँग झडप भएको जानकारी गराएको छ । इजरायलले गत महिना सीमापार भूमिमार्फत सेना पठाउनु अघि लेबनानमा आफ्नो बम आक्रमण बढाएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार युद्धमा एक हजार ३१५ जनाको मृत्यु भएको छ ।

लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले रिपोर्ट गरेअनुसार इजरायलले मङ्गलबार बिहान पूर्वी बेका उपत्यकामा हवाई आक्रमणलाई तीव्र गरेको हो ।रेड क्रसको अन्तर्राष्ट्रिय समितिका क्षेत्रीय निर्देशक, निकोलस भोन आर्क्सले सोमबार एम्बुलेन्स र अन्य स्वास्थ्य सुविधाहरू र कर्मचारीहरूको सुरक्षाका लागि आग्रह गर्दै उनीहरूमाथि भएको आक्रमणलाई “चिन्ताजनक“ विषय रहेको बताए । 

इजरायली आक्रमणले हिजबुल्लाहको गढ साथै लेबनानका अन्य भाग लक्षित आक्रमण सुरु गरेको छ, जसमा उत्तरी इसाई बहुल गाउँ पनि समावेश छ जहाँ सोमबार कम्तिमा २१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दक्षिणी सीमावर्ती सहर मर्जायुनका नागरिक सुरक्षा प्रमुख अनिस अबलाले उद्धारकर्ताहरू “थकित“ भएको बताए । “निरन्तर आक्रमणले हाम्रा उद्धार अभियानहरू झन् झन् कठिन हुँदै गइरहेका छन्“,उनले भने। 

आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनको गत हप्ताको प्रमाणित तथ्याङ्कअनुसार लेबनानको युद्धले कम्तीमा छ लाख ९० हजार मानिस विस्थापित भएका छन् ।
 

प्रतिक्रिया