अन्तर व्यवस्थापिका सङ्घ सँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना

काठमाडौं ।  अन्तर व्यवस्थापिका सङ्घको १४९ औँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहेका राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घका अध्यक्ष डा. तुलिया अक्सन एवं महासचिव मार्टिन चुङगोङसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन् । 

दुवै भेटमा नेपालको सङ्घीय संसद र अन्तर व्यवस्थापिका सङ्घ सँगको आपसी सहकार्य, सहयोग आदानप्रदान, लोकतन्त्रको सुदृढीकरणका लागि संसदीय भूमिका लगायत विषयमा छलफल भएको थियो । जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरुका लागि नेपालको स्थायी नियोगले जनाएको छ । 

अध्यक्ष दाहालले आइपियूका विभिन्न सभा तथा कार्यक्रमहरुले लोकतन्त्र, मानव अधिकार, लैङ्गिक समानता, युवा सशक्तीकरण, दिगो विकास लगायत विषयमा संवाद, सहकार्य र असल अभ्यासहरुको आदान प्रदानबाट संसदीय भूमिका प्रभावकारी बनाउन सहयोग पुगेको बताए । 

अध्यक्ष दाहालले संसदीय अभ्यासलाई अझ परिस्कृत तुल्याउन तथा लोकतान्त्रिक संस्थाहरुलाई सुदृढ बनाउन अन्तर व्यवस्थापिका सङ्घसँग नेपालले घनिभूत सहकार्य गर्न चाहेको बताए । आइपियूसँगको सम्बन्धलाई नेपालले उच्च प्राथमिकता दिएको बताउँदै उनले यसको सचिवालयमा नेपालको पनि सहभागिता आवश्यक भएको विचार व्यक्त गरे। साथै उनले त्यसनिम्ति गृहकार्य गर्न अनुरोध पनि गरे । 

संविधानसभा बाट जारी संविधान मार्फत नेपालले महिला, अल्पसङ्ख्यक, सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न समावेशी र समानुपातिक प्रणाली अवलम्बन गरेको जानकारी दिँदै अध्यक्ष दाहालले सङ्घीय संसदमा ३३ प्रतिशत तथा प्रदेश र स्थानीय तहमा ४१ प्रतिशत महिला जनप्रतिनिधिका रुपमा सहभागी रहेका बताए । 

अध्यक्ष अक्सनले नेपाल विगतदेखि नै आइपियूमा सक्रिय सहभागी भएकामा त्यसको सराहना गर्दै नेपालको सङ्घीय संसदमा ३३ प्रतिशत महिलाको सहभागिताको प्रशंसा गरे । साथै उनले आइपियू सचिवालयमा नेपाललाई समावेश गर्न आफू सकारात्मक रहेको बताए ।  

सङ्घको बैठक आगामी कात्तिक १ गते समापन हुनेछ । 

प्रतिक्रिया