प्रहरीसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनले पारित गर्ने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सङ्घीय संसद्को आगामी अधिवेशनबाट प्रहरीसम्बन्धी विधेयक पारित गर्ने लक्ष्य रहेको बताएका छन् ।

६९औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आज मंगलबार आयोजित श्रद्धाञ्जलि कार्यक्रमलाई सम्बोधन गर्दै गृह मन्त्री लेखकले प्रहरी सङ्गठनको वृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताए । “गृह मन्त्रालयले प्रहरी ऐन, २०१२ लाई प्रतिस्थापन गरी नेपाल प्रहरीको सेवाको विशिष्टिकरण, प्रहरी कर्मचारीको हित र कल्याणका नयाँ प्रावधान विधेयकमा समाविष्ट गरिएको छ,” उनले भने, “गृह मन्त्रालयले यसलाई छिटोभन्दा छिटो प्रतिनिधिसभा समक्ष पेस गर्ने लक्ष्य राखेको छ । प्रस्तावित विधेयकले ऐनको हैसियत प्राप्त गरेपछि नेपाल प्रहरीको वृहत्तर हित र वर्षौँदेखिका हाम्रा अपेक्षा पूरा हुने विश्वास लिएको छु ।”

कार्यक्रममा गृहमन्त्री लेखकले कर्तव्यपालनका क्रममा मृत्युवरण गरेका र घाइते प्रहरी कर्मचारीको योगदानको उच्च मूल्याङ्कन गरिने बताए ।

सुरक्षा निकायको कमी कमजोरीले सरकारले आलोचना व्यहोर्नुपर्ने भएकाले थप सतर्कताका साथ काम गर्न गृहमन्त्री लेखकले प्रहरी संगठनलाई निर्देशन दिए । राज्यको नागरिकसँग सम्पर्क सुत्र नै प्रहरी भएकाले नेपाल प्रहरीको संस्थागत हित र दिगो उन्नतिका लागि आफ्नो भूमिका सदैव सहयोगी रहने गृहमन्त्री लेखकले प्रतिबद्धता जनाए । 

मुलुकभर महिला तथा बालबालिकामाथि हुने हिंसा, कसूरजन्य कार्य, भेद्भाव छुवाछुत लगायतका आपराधिक कार्यमा संलग्नलाई शून्य सहनशीलताको नीति लिएर कानुनको दायरामा ल्याउन गृहमन्त्री लेखकले प्रहरीलाई निर्देशन दिए ।
 

प्रतिक्रिया