पञ्चेबाजा बजाउँदै बागलुङका बालबालिका

बागलुङ । यहाँका सार्वजनिक समारोहमा आजभोलि पञ्चेबाजा बोकेका स–साना बालबालिका भेटिन्छन् । दमाहा, मादल, सनाही, झ्याली लगायत बोकेर उनीहरु भीडमा पुग्छन् । 

जब उनीहरु सार्वजनिक मञ्चमा उक्लिएर बाजा बजाउन थाल्छन् । उपस्थित दर्शक चकित पर्छन् । बागलुङ नगरपालिका–१३ बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयले यो सबै तारतम्य मिलाएको हो । यहाँ पढ्ने बालबालिकाले पञ्चेबजा र नौमती बजाएर सबैलाई चकित पार्ने गरेका हुन् ।

कक्षा ४ मा अध्ययनरत विवेक परियारले ढोलकी बजाउँदा शिक्षक, अभिभावक अचम्मित हुन्छन् । उनीहरुले नौमती बजाउँदा मेला महोत्सव र सार्वजनिक कार्यक्रमको रौनक थपिने गरेको छ । बाजा बजाउन सिक्न थालेको उनीहरुले एक वर्ष भयो । विद्यालयले पाठ्यक्रमका अतिरिक्त रैथाने सीप सिकाइरहेको छ । त्यसअघि एक दुई जनाले घरमा अभिभावक सँग पनि सिकेका थिए । 

विद्यालयले समूहमा राखेर सिकाए पछि सबैजना बाजा बजाउन जान्ने भएका हुन् । सिकाइकै लागि उनीहरु मेला महोत्सव, धार्मिक र साँस्कृतिक कार्यक्रममा बाजा बजाउँछन् । पारिश्रमिक लिएर भने उनीहरुले हाल सम्म बाजा बजाएका छैनन् । 

गत वर्ष देखि विद्यालयले बालबालिकालाई नौमती बाजा सिकाउन थालेको प्रधानाध्यापक तिलक आचार्यले बताए ।  विद्यालयकै शिक्षक थमबहादुर परियारलाई सबै बाजाको ज्ञान भएकाले उनले इच्छुक विद्यार्थीलाई प्रशिक्षण दिइरहेका छन् ।  सुरुमा गाउँमा बाजा बजाउन सिकाए पछि हौसिएका बालबालिकालाई विद्यालयले  तीन लाख खर्चेर नौमती बाजाको ‘सेट’ नै ल्याइदिए पछि अहिले नियमित सिकिरहेका छन् ।

नौमती सिक्नेमा परियार बाहेक अन्य जातका पनि छन् । सबै मिलेर नौमती बजाउन जान्ने भए पछि बालबालिकालाई हरेक शुक्रबारको अतिरिक्त क्रियाकलापमा बाजा बजाउने प्रतियोगिता समेत गराउन थालिएको प्रधानाध्यापक तिलक आचार्यले जानकारी दिए ।

विद्यालयले विज्ञान प्रयोगशाला जस्तै बाजा सिक्ने कक्षलाई पनि व्यवस्थित बनाउने तयारी गरेको छ । “यहाँ धेरैले चासो राखेपछि एकजोर नौमती बाजाले नपुग्ने भयो । अभिभावक र विदेशमा बस्ने युवा बाट सहयोग जुटाएर कम्तीमा दुई जोर बाजा पुर्‍याउने लक्ष्य छ”, आचार्यले भने ।
रासस 

प्रतिक्रिया