नेपालमा बाघको संख्यामा उल्लेख्य बृद्धि, संरक्षणमा सघाउन गैरसरकारी संघसंस्थालाई वनमन्त्रीको आग्रह
काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघका संख्या बढ्दै गएको छ । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्जमा बाघका लागि पर्याप्त आहारा, गुणस्तरीय बासस्थानलगायतको उचित व्यवस्थाले बाघको सङ्ख्या बढ्दै गएको निकुञ्ज कार्यालयले जनाएको छ ।
शुक्लाफाँटाभित्र रहेका ठूलो घाँसेमैदान, तालतलैया र प्रशस्त आहाराका लागि प्रजाति बढेसँगै बाघको सङ्ख्या पनि बढेको हो । निकुञ्जमा बाघको प्रमुख आहाराका रुपमा बाह्रसिङ्गा, रतुवा, चित्तल र बँदेल रहेका छन् । निकुञ्जमा सन् २०१३ को गणनाअनुसार १७ बाघ रहेकामा सन् २०२२ को गणनामा यो सङ्ख्या बढेर ३६ पुगेको हो ।
पछिल्ला केही वर्षयता शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चोरीसिकार नियन्त्रण भई आहारा प्रजातिको उपलब्धता भएकाले बाघको सङ्ख्या चार वर्षमा दोब्बर पुगेको राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सन् २००८ देखि स्वचालित क्यामरा प्रविधिबाट बाघ गणना तथा अनुगमन भइरहेको छ । निकुञ्जले वन्यजन्तुलाई प्यास मेटाउन १३ वटा कृत्रिम ताल समेत बनाएको छ ।
निकुञ्जको वरिपरि मानव बस्ती भए पनि बाघ र मानवबीच द्वन्द्व नरहेको निकुञ्ज कार्यालयले जनाएको छ । वन्यजन्तु संरक्षणमा निकुञ्ज प्रशासन, नेपाली सेना र मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति लागेका छन् ।
प्रतिक्रिया