केराखेती बाट वार्षिक २ करोड आम्दानी

म्याग्दी पूर्वउत्तर मोहोडा गरेको भिरालो जमिन । शिरानमा ऐतिहासिक ज्यामरुककोट र पुछारमा कलकल बगेको कालीगण्डकी । बिचमा बेनी नगरपालिका – २ को खबरा गाउँ । केही वर्ष अघि सम्म खर र सिरुघारीले ढाकिएको यो गाउँ अहिले केरा बगैँचाले मनोहर छ ।

करिब एक सय ५० घरपरिवारको बस्ती रहेको यो गाउँको मुख्य आम्दानी अहिले केराखेती बनेको छ । यहाँ बसोबास गर्ने प्रत्येक परिवारले पाखोबारी,खरबारी र अन्न उत्पादन हुने जग्गामा व्यावसायिक रुपमा केराखेती गरेका स्थानीय कृषक नारायण सापकोटा बताउछन् ।  गाउँभर केराखेती गरिएको छ । केरा बिक्री गरेर वार्षिक २ करोड बढी रकम भित्रिने गरेको उनी बताउछन् । 

विसं २०५७ मा खबरामा पहिलो पटक केराखेती थालिएको स्थानीय जगत् घिमिरे बताउछन् । पोखरा बाट हजारी जातको केराका तीन वटा बिरुवा ल्याएर खबरामा लगाए सँगै व्यावसायिक रूपमा केराखेती प्रारम्भ भएको हो ।  “खबरामा केरा खेतीको सुरुवात भएको २७ वर्ष भयो । तीन वटा केराका बिरुवा लगाएर सुरु भएको केराखेती अहिले पाँच सय रोपनी भन्दा बढी जग्गामा फैलिएको छ । गाउँको नाम नै परिवर्तन भएर ‘खबरा’ बाट ‘केरा गाउँ’ भनेर चिनिन थालेको छ ।”

खबराका तेजेन्द्रबहादुर कार्कीले २३ रोपनी बाँझो जमिनमा केराखेती गरेका छन् ।  वर्षौं देखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याउने अभियानमा लागेका कृषक कार्कीले भिरालो र खोल्साखोल्सीको झाडी फँडानी गरी धमाधम केरा लगाएका छन् । कृषक कार्कीले केरा बिक्री गरेर वार्षिक  सात लाख सम्म आम्दानी हुने गरेको बताए । 

“भिरालो जमिनमा मल, जल नअडिने, बाली लगाउन समस्या भएर बारीहरू बाँझै छाड्ने गरेका  थियौँ तर, केही वर्षयता सोही जमिनलाई उपयोग गरेर केराखेती सुरु गरे पछि अहिले गाउँ नै केराखेतीले भरिएको छ । केराको हरियालीले गाउँ आकर्षक देखिएको छ भने स्थानीयको आम्दानीको मुख्य स्रोत पनि केराखेती नै बनेको छ” कृषक कार्कीले भने । 

स्थानीय यामबहादुर घिमिरे, जगत् घिमिरे, प्रेम कुँवर, चन्द्रबहादुर कार्की, शोभित शर्मा, तेजेन्द्र कार्की लगायत २० जना कृषकले व्यावसायिक रूपमा केराखेती गरेका छन् । केरा खेती फस्टाउँदै मुख्य आम्दानीको स्रोत बन्न थाले पछि स्थानीय अन्य अन्नबालीलाई विस्तार घटाउँदै केराखेतीमै केन्द्रित हुन थालेको कृषक कार्कीको भनाइ छ । “बाँझो जमिनमा केरा नलगाएको घर नै छैन,” अर्का कृषक जगत्बहादुर घिमिरेले भने । 

खबराका किसानले केरा बिक्री गरेर वार्षिक रूपमा न्यूनतम ३० हजार देखि  १० लाख सम्म आम्दानी गर्दै आएका बेनी नगरपालिका–२ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताए । अनुकूल हावापानी, उपयुक्त वातावरण, बजारको सुविधा र पर्याप्त आम्दानी हुने भएकाले व्यावसायिक केराखेती तर्फ यहाँका किसानहरुको आकर्षण बढेको उनी बताउछन् । खबरामा बाइस नङ्ग्रे, मालढुङ्गे, ध्रुसे, चिनी लगायत प्रजातिका केराखेती हुने गरेको छ ।
रासस 

प्रतिक्रिया