आज विश्व हात धुने दिवस मनाइँदै

काठमाडौं । विश्व हात धुने दिवस नेपालमा पनि मंगलबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । 

हरेक वर्ष अक्टोबर १५ मा यो दिवस मनाउने गरिन्छ । यो वर्षको विश्व हात धुने दिवसमा किन सफा हातहरू अझै महत्त्वपूर्ण छन् भन्ने नारा तय गरिएको छ । विश्व भरका मानिसलाई हात धुने बानीमा सुधार ल्याउनका लागि उत्प्रेरित गर्ने उद्देश्यले यो दिवस बनाउने गरिन्छ । 

नेपालमा सन् २००८ देखि यो दिवस मनाउन थालिएको हो । साबुन पानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वास जन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणु द्वारा लाग्ने रोग बाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन् ।

चिकित्सकहरुका अनुसार शौचालय प्रयोग गरे पछि, बालबालिकाको दिसा धोए पछि, हात फोहर भए पछि, खाना बनाउनु, खाना खानु र खुवाउनु अगाडि, अनुहार, नाक, मुख, आँखा छोइसके पछि, बाहिर बाट घर फर्किए पछि साबुन पानीले नियमित हात धुने बानी विकास गर्नुपर्दछ । साथै बालबालिकालाई घरमा नै साबुनपानीले हात धुने बानी बसाल्नुपर्दछ ।  

जीवाणु ब्याक्टेरिया र विषाणु भाइरस जन्य रोग लाग्न बाट रोक्ने र जीवन बचाउने सजिलो, प्रभावकारी र किफायती तरिका साबुन पानीले हात धुनु हो । साबुन पानीले हात धुँदा कीटाणुहरू बाट मुक्ति पाउनुका साथै आफूलाई र आफ्ना वरपरका मानिसलाई बिरामी हुन बाट जोगाउन सकिन्छ । 

प्रतिक्रिया