क्यानडा र भारत बीच तनाव बढ्दै

एजेन्सी । भारतले क्यानडाका ६ कूटनीतिज्ञलाई दिल्ली बाट निष्कासित गर्ने र क्यानडा बाट आफ्नो देशको उच्चायुक्त सञ्जय कुमार बर्मालाई फिर्ता बोलाउने निर्णय गरेपछि दुई देशबिच तनाव बढेको छ ।

यसै सम्बन्धमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पत्रकार सम्मेलन गरेका छन् । राजधानी ओटावामा आयोजित पत्रकार सम्मेलनमा ट्रुडोले क्यानडाका अधिकारीहरूले आफ्ना भारतीय समकक्षीहरूलाई आपराधिक गतिविधिको प्रमाण दिएको तर भारत सरकारले सहयोग नगरेको बताएका छन्। 

क्यानडाका विदेश मन्त्री मेलानी जोली सहितको पत्रकार सम्मेलनमा ट्रुडोले भने,‘ भारतीय सरकारी एजेन्टहरूले सार्वजनिक सुरक्षालाई खतरामा पार्ने भूमिका खेलेको प्रमाण छ र यो अस्वीकार्य छ।’ उनले भने, ‘क्यानडा–भारतबीच जनता–जनताको सम्बन्ध, व्यापार र वाणिज्यको लामो इतिहास छ । तर हामी अहिले जे देखिरहेका छौं, त्यो सहन सक्दैनौं। क्यानडाले भारतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई पूर्ण रूपमा सम्मान गर्छ र हामी भारत सरकारले क्यानडाका लागि पनि त्यस्तै गर्ने अपेक्षा गर्दछौं।’

क्यानडाको भूमिमा हरदीप सिंह निज्जरको हत्यामा भारतको सम्भावित संलग्नता बारे गुप्तचर निकायले आशंका व्यक्त गर्दै आएको छ । सन् २०२३ मा क्यानडाका नागरिक हरदीप सिंह निज्जरको क्यानडाको ब्रिटिस कोलम्बिया स्थित सर्रे शहरको एक गुरूद्वाराको पार्किङमा गोली हानी हत्या भएको थियो। हत्यासँगै भारत र क्यानडाको सम्बन्ध चिसिएको हो।

प्रतिक्रिया