लेबनान स्थित संयुक्त राष्ट्रसङ्घको आधारमा इजरायली सैनिक प्रवेश

एजेन्सी । इजरायली सेना पर्खाल भत्काएरै लेबनानमा संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बल (युनिफिल) को क्षेत्रमा प्रवेश गरेको छ । 

दुई वटा इजरायली ट्याङ्कले दक्षिणी लेबनानमा आफ्नो मुख्य गेट नष्ट गरेर बलपूर्वक प्रवेश गरेको युनिफिलले जनाएको छ । यस अघि इजरायली सेनाले गोली चलाउँदा शान्ति मिसनका ५ जना सेना घाइते भएपछि ४० वटा देशले आपत्ति जनाएका थिए । तर, आपत्तिलाई बेवास्ता गर्दै इजरायली सेना लेबनानको दक्षिणी क्षेत्रमा घुसेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । 

सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शान्ति मिसनका सैनिकलाई तुरुन्तै दक्षिणी लेबनान बाट अन्तै सार्न चेतावनी दिएका थिए । शान्ति मिसनमा खटिएका सैनिकले हिजबुल्लाहको रक्षा गरेको इजायलले दाबी गरेको छ । यस्तै, युनिफिलले  इजरायली रक्षा बलका सैनिकहरूले मेस अल–जबलको दक्षिणपूर्वी गाउँ नजिकै आफ्नो खाद्यान्न ढुवानीलाई पनि रोकिदिएको जनाएको छ । 

इजरायलले अन्तर्राष्ट्रिय सन्धी उल्लङ्घनले गर्दा अमेरिका र बेलायतले कुनै प्रतिक्रिया दिएका छैनन् । फ्रान्स, स्पेन, भारत, चीन लगायतका देशले भने विरोध गरेका छन् । हिजबुल्लाहलाई नष्ट गर्ने भन्दै इजरायली सेनाले दुई हप्तादेखि लेबनानमा ठूला हमला गरिरहेको छ । जसमा ५ हजार जनाको ज्यान गइसकेको छ ।  

प्रतिक्रिया