दशैं टीकाको आज चौथो दिन, मान्यजन बाट टीका र जमरा लगाउने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष त्रयोदशीका दिन मंगलबार पनि मान्यजन बाट आशीर्वाद स्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहेको छ  । 

आश्विन शुक्ल प्रतिपदा देखि नवमी सम्म नवदुर्गाको साधना गरिएको प्रसाद स्वरुप विजयादशमीका दिन देखि शुरु भएको टीका र जमरा लगाउने क्रम मंगलबार पनि जारी रहेको छ । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमी देखि आश्विन शुक्ल पूर्णिमा सम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् ।

आफन्त टाढा हुनेका लागि बडादशैं नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो । महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमी देखि नै चहलपहल बढ्न थालेको छ । निधारमा रातो टीका र जमरा लगाएका मानिस मान्यजन कहाँ टीका लगाउन गइरहेको देखिन्छ । 

बडादशैंको सार्वजनिक बिदा सोमबार सकिएर आजदेखि सरकारी कार्यालय खुल्ने भएपनि टीका र आशीर्वाद थाप्ने क्रम भने कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभए सम्म निरन्तर चलिरहन्छ ।

यस वर्ष असोज ३० गते बुधबार अखिल बलिपूर्ति र कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ । कात्तिक १ गतेदेखि नेपालीको महान् चाड बडा दशैं समापन हुनेछ ।
रासस

प्रतिक्रिया