मुस्ताङमा १६ करोडको भेडा च्याङग्रा बिक्री

म्याग्दी  । यस वर्षको दशैंमा मुस्ताङमा १६ करोड बराबरको भेडा च्याङग्राको व्यापार भएको छ । 

दशैंका लागि मुस्ताङ बाट बिक्री भएका आठ हजार भेडा च्याङग्रा मध्ये चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र तीन हजार दुई सय डोल्पा, मुगुु बाट ल्याइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । 

केन्द्रका प्रमुख लालमणि अर्यालका अनुसार पाँच सय भेडा (च्यालुक) र सात हजार पाँच सय च्याङग्रा बिक्री भएको हो । “मुस्ताङका किसानले उमेर र तौल अनुसार प्रतिगोटा २८ हजार देखि ३८ हजारका दरले च्याङग्रा बेचेका छन्”, उनले भने । 

गत वर्ष सात हजार भेडा च्याङग्रा बिक्री भएको थियो । म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौं लगायतका जिल्ला तथा शहरमा मुुस्ताङका भेडा च्याङग्रा बिक्री भएको छ । अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको र मूल्य घटेकाका कारण यसपाली भेडा च्याङग्राको व्यापार राम्रो भएको व्यापारीहरुले बताएका छन् । 

जडीवुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिने भएकाले  दशैं तिहारमा हिमाली च्याङग्राको मासुुको उपभोग गर्ने चलन रहेको बेनीका अर्जुन पौडेलले बताए । तीन वर्ष पूरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छ । 

बजारमा गत वर्षको तुलनामा प्रतिगोटा च्याङग्रा  १० हजार कम मूूल्यमा बिक्री भएको छ । मुस्ताङको घरपझोङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङग्रा पालिएको छ । यहाँका किसानको मुख्य आयस्रोत च्याङग्रापालन हो । 
रासस 

प्रतिक्रिया