इजरायल द्वारा लेबनानमा रहेका शान्ति सेनामाथि गरिएको आक्रमण अस्वीकार्य: युरोपेली सङ्घ

एजेन्सी । युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले सोमबार दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकहरूलाई घाइते बनाएको इजरायली आक्रमणको शृङ्खलालाई पूर्णतया अस्वीकार्य भन्दै निन्दा गरेका छन् ।  

“इयुका २७ सदस्यहरू युएनआईएफआइएल (युनिफिल) माथि आक्रमण रोक्न इजरायललाई आग्रह गर्न सहमत भएका छन्”, बोरेलले लक्जेमबर्गमा ब्लकका विदेशमन्त्रीहरूको बैठकअघि पत्रकारहरूसँग भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घका सेनामाथि आक्रमण गर्नु पूर्णतया अस्वीकार्य छ ।”

हालैका दिनहरूमा इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहलाई लक्षित गर्दा कम्तीमा पाँच जना शान्ति सैनिक घाइते भएका छन् । इजरायलको सन् १९७८ को लेबनान आक्रमणपछि स्थापना गरिएको विभिन्न राष्ट्रियताका करिब नौ हजार पाँच सय सैनिकहरूको मिसन युनिफिलले इजरायली सेनालाई आफ्ना ठाउँहरूमा जानीजानी आक्रमण गरेको आरोप लगाएको छ । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई हिजबुल्लाहले शान्ति सैनिकलाई मानव ढालको रूपमा प्रयोग गरेको बताउँदै दक्षिण लेबनानमा तैनाथ शान्ति सैनिकहरूलाई  खतराको बाटोबाट हटाउन आह्वान गरे । 

युनिफिलले आफ्ना स्थानहरू छाड्न अस्वीकार गरेको छ । 

प्रतिक्रिया