संयुक्त राष्ट्रसंघद्धारा मृत्युदण्डको सजाय दिने प्रावधानमा रोक लगाउन आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसंघले मृत्युदण्डको सजाय दिने प्रावधानमा रोक लगाउन आग्रह गरेको छ । सिङ्गापुर र कुवेतमा हालै गरिएको मृत्युदण्डको निन्दा गर्दै राष्ट्रसङ्घले फाँसीको प्रावधान हटाउन आग्रह गरेको हो । सिङ्गापुरले अपराध नियन्त्रण गर्न मृत्युदण्ड प्रभावकारी हुने दाबी गर्दै आएको छ ।

सिङ्गापुरमा लागूऔषध ओसारपसारको आरोपमा ४५ वर्षीय एक महिलालाई शुक्रबार फाँसी दिइएको छ । एम्नेष्टि इन्टरनेश्नललगायत मानवअधिकारवादी संस्थाले प्राण हरणको उक्त दण्ड स्थगनका निम्ति गरेको अपीललाई बेवास्ता गर्दै पचास ग्राम हेरोइन तस्करी गरेको अभियोगमा ज्यानै लिने सजाय दिएको हो ।

सिङ्गापुरले २० वर्षपछि पहिलोपटक महिलालाई झुन्ड्याएर मृत्युदण्ड दिएको समाचार संस्था सिन्ह्वाले लेखेको छ । सन् २०२२ को मार्चदेखि कार्यान्वयन गरिएको यो पन्धौं मृत्युदण्ड हो । बीस वर्षअघि यस्तै प्रकृतिको अपराधमा सौन्दर्य सेवा प्रदायक केन्द्रमा काम गर्ने ३६ वर्षीय एक महिलालाई झुन्ड्याइएको थियो ।

यसैबीच, कुवेतमा सन् २०१५ मा इस्लामिक स्टेट जिहादी समूहले गरेको आत्मघाती आक्रमणमा संलग्न रहेको अभियोगमा दोषी ठहर भएका पाँच जनालाई बिहीबार मृत्युदण्ड दिइएको थियो । गत वर्षको नोभेम्बरमा सात जनालाई मृत्युदण्ड दिइए यता साउदी अरबको छिमेकी खाडी मुलुक कुवेतमा बिहीबार दिइएको मृत्युदण्ड पहिलो हो ।

साउदी अरबको तुलनामा कवेतमा मृत्युदण्डको सजाय दुर्लभ मानिन्छ । विश्वका धेरै देशले मृत्युदण्डको सजाय परित्याग गर्दै लागू औषधसम्बन्धी मुद्दा सम्बोधनका निम्ति उदार नीति अङ्गीकार गरिरहेको सन्र्दभमा सिङ्गापुरले त्यसलाई मनन नगर्नु दुर्भाग्यपूर्ण भएको एम्नेस्टीले बताएको छ ।

लागुऔषध नियन्त्रणको नाममा मृत्युदण्ड दिने क्रम जारी राख्नु अनुचित भएको टिप्पणी पनि एम्नेस्टीले गरेको छ ।
 

प्रतिक्रिया