भरतपुर अस्पताल: अन्य समयमा भन्दा दशैंका अवधिमा प्रसूति सेवा लिने धेरै

चितवन । चितवनको सरकारी भरतपुर अस्पतालमा दशैंको टीकाको दिनमा १५ जनाले प्रसूति सेवा लिएका छन् । २४ घण्टाका अवधिमा १० जनाले सामान्य र पाँच जनाले शल्यक्रिया मार्फत शिशु जन्माएका हुन् । 
 
वडा दशैंको समयमा बर्थिङ सेन्टर, हेल्थपोष्टमा चिकित्सकको अभाव हुने हुँदा यहाँको सरकारी भरतपुर अस्पतालमा प्रसूति सेवाका बिरामीको चाप बढ्ने गर्दछ । कतिपय निजी साना अस्पतालमा दशैंको बेलामा आकस्मिक सेवासमेत दिन कठिन हुने गर्दछ । चाप बढ्ने भएपछि भरतपुर अस्पतालले त्यसको तयारी गरेको थियो । अस्पतालको प्रसूति विभागका प्रमुख प्राडा सुनिलमणि पोखरेल चिकित्सकलाई पालो मिलाएर तयारी अवस्थामा राखिएकाले प्रसूति सेवा दिन सहज भएको बताएका छन् । 

उनका अनुसार गोरखा, लमजुङ, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व), मकवानपुर, धादिङ लगायतका जिल्लाबाट यहाँ प्रसूति सेवा लिन बिरामी आउने गर्दछन् । भरतपुर अस्पतालको प्रसूति विभागमा दैनिक ३० देखि ३५ जनाले प्रसूति सेवा लिने गर्दछन् । तीमध्ये आधाको शल्यक्रिया गर्नुपर्ने हुन्छ । हेल्थपोष्ट लगायत साना अस्पतालमा सामान्य प्रसूति हुन नसक्ने भएपछि यहाँ रिफर भएर आउने भएकाले शल्यक्रिया गर्नुपर्नेको सङ्ख्या धेरै हुने गरेको प्राडा पौडेल बताउछन् । 
 
अस्पतालमा १३ जना विशेषज्ञ चिकित्सक, चार जना आवासीय चिकित्सक र पाँच जना तालिम प्राप्त मेडिकल अधिकृत रहेका छन् । सँगै ३२ जना तालिमप्राप्त नर्सिङ् स्टाफ रहेको उनले बताए । प्रसूतिका लागि दक्ष समूह रहेको भन्दै पोखरेलले दशैंको समयमा समेत सेवा नरोकेको बताए । 

अस्पतालले वर्षमा १२ हजार हाराहारीलाई प्रसूति सेवा दिने गरेको छ । पछिल्ला वर्षमा सङ्ख्या घट्दै गएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले दशैंको समयमा अस्पतालको आकस्मिक सेवासहित प्रसूति सेवा सूचारु गरिएको बताए  । आकस्मिक रुपमा गर्नुपर्ने प्रसूति लगायत अन्य शल्यक्रिया नरोकिएको उनको भनाई छ । 
 
भरतपुर अस्पताल प्रसूति सेवामा अब्बल मानिन्छ । प्रसूति गराउनेका लागि पहिलो प्राथमिकतामा भरतपुर अस्पताल पर्दछ । निजी अस्पतालमा भन्दा प्रसूति गराउन भरतपुर अस्पतालमा सुरक्षित मान्ने गरिन्छ । यहाँ २० शैयाकाे बाल सघन उपचार (एनआईसियू) कक्ष समेत रहेको छ । सरकारीमा प्रसूति गराउँदा राम्रो सेवा र कम खर्च हुने भएपछि अन्य समयमा पनि आकर्षण बढी हुने गर्दछ ।


 

प्रतिक्रिया