दिवाखाजा कार्यक्रम : बीचमै विद्याय छाडने विद्यार्थीको सङख्या शून्य

कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटा स्थित बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन । बीचमै विद्याय छाडने विद्यार्थीको सङख्या शून्य छ । विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनले विद्यालयमा विद्यार्थीलाई टिकाइ राख्न सहयोग पुर्याएको हो ।

आर्थिक रुपमा विपन्न परिवारका बालबालिका विद्यालयमा पढने गरेका छन । दैनिक मजदुरी गरी जीविका चलाउने परिवारले विगतमा आफूसँगै बालबालिकालाई पनि काम गर्ने क्षेत्रमा लैजादा पढाइ प्रभावित हँुदै आएको थियो । “कक्षा दोहोर्याउने, बीचमै विद्यालय छाडने र कक्षामा नियमति विद्यार्थी नआउने समस्या विगतमा थियो” विद्यालयका दिवा खाजा व्यवस्थापन गर्दै आएका श्रोत शिक्षक डवलबहादुर ठगुन्नाले भने, “दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाइएपछि बालबालिका नियमित विद्यालय आउन थालेका छन ।” 

उनका  अनुसार नगरको शिक्षा शाखाबाट बाल कक्षादेखि ५ सम्मका विद्यार्थीलाई मात्रै दिवा खाजा खुवाउनका लागि प्रति विद्यार्थी  १५ रुपैयाँका दरले विद्यालयमा रकम निकासा पठाइने गरेको छ । त्यसै रकमबाट विद्यालयका कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई खाजा खुवाउने गरिएको श्रोत शिक्षक ठगुन्नाले बताए । 

विद्यालयमा अध्ययनरत तीन सय १० जना विद्यार्थीलाई आइतबार खिर, सोमबार दालभात, मङगलबार फ्राइ गरिएको चना, बुधबार अण्डा राखिएको राइस फ्राई, विहीबार खिचडी र शुक्रवार फलफुल खुवाइने गरिन्छ ।

विद्यालयमै खाजा पाइन्छ भनेर विद्यार्थी नियमित विद्यालय आउने र दिनभर कक्षामा बस्ने गरेको विद्यालयका शिक्षक अमरबहादुर महराले बताए । यो संगै खाजा कार्यक्रमको केही रकम बचत गरी विद्यालयका लागि आवश्यक दुई थान ल्यापटप खरिद गरिएका छन । गर्मी मौसममा विद्यालयमा आउने अभिभावक, शिक्षक, विद्यार्थी लगायतलाई चिसो पिउने पानीका लागि र भान्साको सागपात, फलफूल लगायतका अन्य खाद्यन्न राख्नका लागि सोही कार्यक्रमबाट रकम बचत गरी एक थान रेफ्रिजेनेटर(फ्रीज) खरिद गरी सञ्चालमा ल्याइएको छ ।

 दिवा खाजाको खर्च आम्दानीको विवरण हरेक तीन÷तीन महिनामा शिक्षक स्टाप बैठक बसेर अनुमोदन गरी आवश्यक राय सुझावहरुलाई कार्यान्वयनमा लैजाने गरिन्छ ।  दिवा खाजाका लागि विद्यालयले वार्षिक योजना बनाई कार्यान्वयनमा गर्दै आएको विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद पन्तले बताए ।
विसं २०७७ सालमा तर्जुमा गरिएको दिवा खाजा कार्यक्रमको प्रति विद्यार्थी  १५ रुपैयााका दरले उपलव्ध गराउने रकम हालको महंगीमा नपुग्ने भएकाले यसमा बढोत्तरी गर्नु पर्ने विद्यालयका शिक्षहरुले जनाएका छन् ।

 विद्यालयमा दिवा खाजा कार्यक्रमसँगै अग्रेजी माध्यममा पढाई पनि हुने गरेको छ । नगर क्षेत्रका सामुदयिक विद्यालय मध्ये दिवा खाजा व्यवस्थामा नमूना कार्य गरेको नगर शिक्षा शाखाका प्राविधिक सहायक दीपेन्द्र जोशीले बताए ।

विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई नगरपालिकाले थप प्रभावकारी बनाउन नगरपालिकाले अनुगमन संयन्त्रण निर्माण गरेको नगरपालिकाको शिक्षा शाखाका प्रमुख टिकेन्द्रराज भट्टले बताए । दिवा खाजाका लागि प्रति विद्यार्थी  १५ रुपैयाँ का दरले वर्षमा जम्मा एक सय ८० दिनका लागि शिक्षा शाखाले विद्यालयमा बजेट पठाउने गरेको छ ।

दिवा खाजामा प्रोटिन, चिल्लो पदार्थ, आयोडिन, जिङक, भिटामीन ए लगायत समावेश गरिएको हुनु पर्छ । प्रति विद्यार्थीलाई दिवा खाजा एक सय ५० देखि दुई सय ग्राम सम्म उपलव्ध गराउनु पर्ने प्रावधान रहेको छ । 
नगरपालिकामा ६५  बालविकास केन्दमा दुई हजार पाँच सय १८ र सामुदायिक विद्यालयको आधारभूत तह कक्षा १ देखि ५ सम्म पाँच हजार पाँच सय २० गरी आठ हजार ३८ बालबालिकालाई दिवा खाजा कार्यक्रममा समेटिएको छ । नगरपालिकामा ३२  सामुदायिक विद्यालय छन । 
रासस
 

प्रतिक्रिया