हुलाकी राजमार्ग अन्तर्गत कालिया खोलामा पुल नहुँदा समस्या

सप्तरी । हुलाकी राजमार्ग अन्तर्गत राजविराज–कञ्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४ बनौलीस्थित कालिया खोलामा निर्माणाधीन पुल अलपत्र अवस्थामा छ । जसले गर्दा आवतजावतमा निकै समस्या भइरहेको छ ।  
    
लामा बागमती निर्माण सेवाले विसं २०७१ मा निर्माण सुरु गरे पनि काम सुस्त हुँदा स्थानीयलाई समस्या भएको छ । पुल नबन्दा खोला तरेर दैनिक सयौँ सवारीसाधन र स्थानीयले आवातजावत गर्नुपर्ने बाध्यता रहेको स्थानीय पिन्टु यादवले गुनासो गरे । जिल्लाको सदरमुकाम राजविराज समेत जोडने पुल भएकाले हजारौँ मानिसले जोखिमपूर्ण यात्रा गर्नु परिरहेको उनले सुनाए । 
            
तिरहुत गाउँपालिका–३ का बुधिलाल अरगारिया यादवले समयमा पुल निर्माण नहुँदा वर्षाको समयमा खोलामा अत्यधिक बाढी आउने र आवत जावतमा अवरोध सिर्जना हुने गरेको बताए  । “सामान्य वर्षा भए पनि खोला बाट चारपाङ्ग्रे र दुईपाङ्ग्रे गाडी आउने जाने क्रम पूर्ण रुपमा बन्द हुने गरेको छ । राजविराज बाट जिल्लाको पूर्वमा महेन्द्र राजमार्ग जोड्ने तिरहुत गाउँपालिका, कञ्चरुप नगरपालिका, सप्तकोसी नगरपालिका र उदयपुर जिल्ला सम्मका लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनमा अवरोध हुन्छ”, उने भने । 

यस्तै, यस आसपास जोडिएको करिब दुई किलोमिटर सडक समेत कालोपत्रे हुन सकेको छैन । बज्रगुरु निर्माण सेवा जेभीको ठेक्कामा रहेको यो सडक कालोपत्र नहुँदा थप समस्या भइरहेको सोही ठाउँका देवनारायण यादवले गुनासो गरे ।

यस्तै, तिरहुत गाउँपालिका–५ बुधेवामा पुल निर्माण भए पनि त्यस सँग जोडिएको एक किलोमिटर सडक कालोपत्र गर्न  ढिलाइ भएको छ । 
रासस 

प्रतिक्रिया