बागलुङका ग्रामीण सडक सञ्चालन नहुँदा सास्ती

बागलुङ । बागलुङका ग्रामीण सडक सञ्चालनमा नआउँदा स्थानीयलाई सास्ती भएको छ । वर्षाका कारण गत असार देखि अवरुद्ध भएका सडक दशैंमा पनि सञ्चालन नहुँदा सामान ढुवानी तथा यात्रा गर्न समस्या भएको हो । 

जिल्लाको तमानखोला, निसीखोला, काठेखोला, बडिगाड गाउँपालिका सहित १० वटै पालिकाका ग्रामीण सडक पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन् । दशैं अगावै सबै सडक सञ्चालन गर्ने भनिए पनि अविरल वर्षाका कारण खुलाउन नसकिएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए । 

 यहाँका मुख्यमुख्य सडक सञ्चालन भए पनि केही सडक चाँडै खुलाउने तयारी भइरहेको उनले जानकारी दिए । अध्यक्ष घर्ती भन्छन्, “गाउँपालिका भित्रका सबै सडक दसैँमा सञ्चालन गर्ने योजना थियो तर, अविरल वर्षाका कारण केही सडक खुलाउन सकिएन । अब केही दिनमा सञ्चालन हुने गरी काम गर्छौं ।”

बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले दशैं अघिको वर्षाले बडिगाडमा ठूलो क्षति पुर्‍याएको हुँदा वडा ९ र १० का विभिन्न स्थानका सडक सञ्चालन गर्न नसकिएको बताए । पालिकाले वर्षातका  कारण अवरुद्ध सडक खुलाउनका लागि  ६० लाख विनियोजन गरे पनि त्यसले केही ठाउँका सडक मात्र सञ्चालनमा गर्न सकिएको उनले बताए ।  गाउँपालिका भित्र रहेका दर्लिङ, नयाँगाउँ, मालारानी, आरुपाटा, निगलपानी पुग्ने सडक पूर्ण रुपमा ठप्प भएको अध्यक्ष अधिकारीको भनाइ छ । 

दशैंमा गाउँमा मोटरबाटो सञ्चालन नहुँदा बोकेरै सामान ढुवानी गर्नु परेको स्थानीय चन्द्रकान्त बुढामगरले गुनासो गरे । साउन महिनामा पहिरोले सडकको ट्र्याक नै बगाए पछि यातायातका साधान चल्न छोडेको भन्दै दशैंमा टाढाटाढा बाट आउने आफन्तहरुले सास्ती खेप्नुपरेको उनको भनाइ छ । “साउन देखि नै समस्या थियो तर, दशैंमा त समस्या समाधान होला सोचेका थियौँ, यहीबेला वर्षाले धेरै ठाउँमा पहिरो गएर थप समस्या भयो । सडक नखुल्दा दशैं समेत खल्लो हुनुपुग्यो”, बुढामगरले भने ।

रासस
 

प्रतिक्रिया