जुम्लामा १६ करोडका भेडा तथा खसी बोकाको कारोबार

जुम्ला । जुम्लामा यस वर्षको दशैंको समयमा मात्रै १६ करोड भन्दा बढीको भेडा, खसी लगायतको कारोबार भएको छ । 

चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलङ्गा बजार क्षेत्र बाट मात्रै १६ करोड ३२ लाख ३१ हजारको भेडा, खसी, बोका तथा राँगाभैँसीको बिक्रीवितरण भएको जानकारी दिए । 

शाखा प्रमुख रावलका अनुसार जिल्लाकै भेडापालक किसान र बाहिर बाट ल्याइएका समेत गरेर यहाँ सात हजार ९२८ भेडा तथा खसी बिक्री भएका छन् । यस्तै, १५ करोड २३ लाख २३ हजारका भेडा, ७७ लाख ९२ हजारका खसी र ३१ लाख १६ हजारका राँगा तथा भैसीहरू खरिद बिक्री भएका छन् । जसमा चार सय ८७ खसी, तीन वटा राँगा र ८२ वटा भैँसी रहेका छन् । 

यहाँ स्थानीय भेडाको अधिकतम मूल्य २८ हजार, न्यूनतम  १० हजार भएकामा औसत मूल्य १९ हजार तोकिएको थियो । जुम्ली खसीको अधिकतम मूल्य  २४ हजार र न्यूनतम  आठ हजार रहेकामा औसत  १६ हजारमा बिक्री भएको जनाइएको छ । अधिकतम मूल्य  ५० हजार र न्यूनतम  २६ हजारमा किनबेच भइरहेका राँगाभैँसी औसत ३८ हजारमा बिक्री भएका थिए । 

विसं २०६८ देखि तिब्बती भेडाच्याङ्ग्रा ल्याउन छाडे पछि यहाँ जुम्ली भेडा, खसीबोका मात्रै बिक्रीवितरण हुने गरेका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन् । 

पछिल्लो समय कनकासुन्दरी गाउँपालिकाको गोठीज्यूला, सिंजा गाउँपालिकाको नराकोट, हिमा गाउँपालिकाको जुगाड, बागबजार, तिला गाउँपालिकाको रारालिही, तातोपानी गाउँपालिकाको लिताकोट, पातारासी गाउँपालिकाको लासी बजार र उर्थुचौतारा, गुठीचौरी गाउँपालिकाको मणिसाँघु लगायत साना बजारमा समेत भेडा, खसी लगायतको कारोबार हुने गरेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ । 
रासस 

प्रतिक्रिया