बाजुरामा बाढी र पहिरोले दुई गाउँपालिकाका १३ परिवार विस्थापित

काठमाडौं । बाजुरामा बाढी र पहिरोले दुई गाउँपालिकाका १३ परिवार विस्थापित भएका छन् । शुक्रबार आएको बाढी र पहिरोका कारण हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार विस्थापित हुनुका साथै दर्जनौँ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

हिमाली गाउँपालिका–३ युनामा शुक्रबार घरमाथिबाट आएको पहिरोमा परी दीपलाल बुढाको घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिं कठायतका अनुसार शुक्रबार बिहान साढे ८ बजे आएको पहिरोले बुढाको घरसहित घरभित्र भएका अन्नपात, लुगा कपडा बगाएको हो।

पहिरोले घर बगाएपछि तीन जनाको परिवारको बिचल्ली भएको छ । उनीहरूको सुरक्षित बासका लागि वडा अध्यक्षसँग पहल भइरहेको प्रहरी निरीक्षक कठायतले जानकारी दिए। पहिरोका कारण सोही वडाका १० घर जोखिममा परेको प्रहरीको भनाइ छ ।

युनामा रहेको आधारभूत स्वास्थ्यचौकी पनि पहिरोको जोखिममा परेको छ । साथै गौमूल गाउँपालिका–३ मा आएको पहिरोमा परी १२ परिवार विस्थापित बनेका छन्। लगातारको वर्षापछि आएको पहिरोका कारण बेहरीका पाँच र ढल्काँडाका सात गरी १२ परिवार विस्थापित बनेको गौमूल गाउँपालिका उपाध्यक्ष सीता थापाले जानकारी दिए।

पहिरोले सिङ्गो बस्ती नै विस्थापित गर्ने गरी खसेको छ। दिउँसोको समयमा पहिरो खसेकाले मानवीय क्षति नभए पनि भौतिक नोक्सानी बेहोर्नुपरेको स्थानीयले बताएका छन्।

पहिरोका कारण १२ परिवारका ६० जनाभन्दा बढीलाई  स्थानीय थुमथला आधारभूत विद्यालयमा राखिएको पालिका उपाध्यक्ष थापाको भनाइ छ । 
 

प्रतिक्रिया