क्विन्टल सुन तस्करीको छानबीनमा हङकङले सहयोग गर्ने

हङकङ भन्सारले नेपालमा भएको सुन तस्करीको छानविनमा सहयोग गर्ने भएको छ । भन्सार विभागले हङकङ हुँदै नेपालमा सुन तस्करी भैरहेको विषयमा गत मंगलबार पत्राचार गरेकोमा आज जवाफ पठाउदै हङकङ भन्सारले सहयोग गर्ने प्रतिबद्धता जनाएको हो । हङकङ भन्सारले तस्करी प्रकरणका विषयमा थप विवरण समेत माग गरेको छ । उसले एयर वे बिल अर्थात जहाजबाट सामान ल्याउँदाको सम्पूर्ण कागजात माग गरेको छ । एयर वे बिलका आधारमा हङकङ भन्सारले थप अनुसन्धान गर्ने र अनुसन्धानबाट देखिएका कुराहरू भन्सार विभागलाई जानकारी दिने बताइएको छ ।  साउन दुई गते करिब एक क्विन्टल सुन बरामद भएपछि विभागले हङकङ भन्सारसँग सहयोग माग गरेको हो । विभागले यति ठूलो मात्रामा सुन हङकङ भन्सारबाट किन पठाइयो ? किन राम्रोसँग जाँच भएन ? लगायतका विषयमा विभागले प्रश्न सोधेर पत्राचार गरेको थियो । हङकङ भन्सारको एक्सरे मेसिनले सुन किन थाहा पाएन, सुन तस्करहरूलाई सहयोग हुनेगरी सामान किन पठाइयो भन्ने प्रश्न पनि विभागले सोधेको छ ।  हङकङ हुँदै ‘ब्रेक सु’मा आएको करिब एक क्विन्टल सुन यही साउन तीन गते राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबाट उक्त सुन पास भइसकेपछि सो सुन बरामद गरिएको थियो । 
 

प्रतिक्रिया