राष्ट्रपति पौडेलले लगाइदिए सर्वसाधारणलाई विजयादशमीको टीका

काठमाडौं । विजयादशमीका उपलक्ष्यमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा सर्वसाधारणलाई टीका लगाइदिएका छन् । राष्ट्रपति पौडेलले ५ बजेसम्म सर्वसाधारणलाई टीकाजमरा लगाइदिने कार्यक्रम रहेको छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो ३ बजेदेखि साढे ३ बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका लगाइदिएपछि सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका हुन् ।

यसअघि टीका तथा जमरा ग्रहण गर्न उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री कान्छाराम तामाङ, सांसद सपना राजभण्डारीलगायत राष्ट्रपति कार्यालय शितलनिवास पुगेको राष्ट्रपतिवाट टिकाजमरा थापेका थिए । 

यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुली, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालगायतले पनि राष्ट्रपति पौडेलसँग टीका तथा जमरा ग्रहण गरेका थिए ।
 
राष्ट्रपतिको हातबाट टीका थाप्नका लागि सर्वसाधारण शीतल निवास पुगेका छन् ।

प्रतिक्रिया