टीकाको अघिल्लो दिन जब छोराको शव आयो...

दमौली । तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी २९ वर्षीय विराट पन्थ पाइलट पढ्न दक्षिण अफ्रिका पुगेका थिए ।

 एक वर्षअघि त्यहाँ पुगेका पन्थले १० महिने कोर्ष पूरा गरिसकेका थिए ।  आठ महिनापछि उनी  पाइलट बन्दै थिए ।छोरोको पाइलट बन्ने सपना पूरा हुने क्रममै रहेकाले यसपटकको दशैं पनि विगतकोभन्दा थप उल्लासमय हुने अपेक्षामा थियो पन्थ परिवार । तर त्यो सपनामै सीमित हुन पुगेको छ । विराट विजयादशमीको पहिलो दिन अर्थात् घटनास्थापनमा भएको दुर्घटनामा परी सधैँका लागि अस्ताएका छन् । 

यता नेपालमा रहेको पन्थ परिवार दशैंका लागि जमराको चाँजोपाँजो गर्दै थिए । त्यहीबेला खबर आयो, छोरा विराट असोज १७ गते घटनास्थापनाका दिन आफैँले चलाएको कार दुर्घटनामा परी सधैँका लागि अस्ताए । साथीको जन्मदिन मनाउन जाँदै गर्दा दुर्घटनामा परी उनको मृत्यु भएको जनाइएको छ । 

कानुनी प्रक्रिया पूरागरी पन्थको शव बडादशैंको नवौँ दिन शुक्रबार राति दमौली ल्याइएको छ । राति नै दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरिएको छ । दशैंका बेला खुसीयाली हुनुपर्ने परिवार यतिबेला शोकमा छ । बुबा अधिवक्ता गोविन्द पन्थ र आमा टीकादेवी पन्थलगायत परिवार शोकको पीडा व्यक्त गर्ने अवस्थामा पनि छैनन् । आफन्त ईश्वरराज पन्थले भने, “ठूलो सपना बोकेर घर छोडेको छोराको शव आँगनमा आउँदा कस्तो भयो होला ! अकल्पनीय घटनाले सबैलाई विक्षिप्त बनाएको छ ।”

छिमेकी नन्दन श्रेष्ठले विराटको अकल्पनीय अवसानले आफूहरू स्तब्ध भएको बताए । 
रासस
 

प्रतिक्रिया