दशैंले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे

काठमाडौं ।  सभामुख देवराज घिमिरेले दशैंले समाजमा आपसी सहयोग, मेलमिलाप, सद्भाव र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्ने विश्वास व्यक्तगरेका छन्  ।

विजया दशमीको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले यस अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् । 

 “असत्यमाथि सत्यको विजय दसैँको सबैभन्दा ठूलो सन्देश हो । यसको सांस्कृतिक, धार्मिक र सामाजिक महत्व रहेको छ । दसैँले देवी दुर्गाप्रति आस्था अभिवृद्धिसँगै परिवार र समुदायबीचको सम्बन्धलाई बलियो बनाउन उत्तिकै भूमिका खेलेको छ । समाजमा आपसी सहयोग, मेलमिलाप, सद्भाव र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत गरेको छ”, सभामुख घिमिरेले सन्देशमा भनेका छन् ।  सभामुख घिमिरेले पछिल्लो समय नेपाली हिन्दूले मात्र नभई अन्य धर्म–सम्प्रदायले समेत दशैं मनाइरहेको सन्दर्भमा दशैं सबै नेपालीको साझा चाडका रूपमा विकास भएको उल्लेख गर्दै दशैं नेपालीहरूको लोकचाडका रुपमा समेत स्थापित हुँदै गएको बाएका छन् । 

सभामुख घिमिरेले दशैंको पूर्वसन्ध्यामा असोज दोस्रो साता मनसुनी प्रभावका कारण देशभर बाढी, पहिरोले जनजीवन अस्तव्यस्त बनाएको सन्दर्भमा सुरक्षित र सावधानीपूर्वक यात्रागरी दशैं मनाउनुहुन अनुरोध पनि गरेका छन् । 

चाडबाडले धेरै परिवारका लागि आर्थिक चुनौती ल्याउनेतर्फ सचेत गराउँदै मितव्ययी र स्वस्थ खर्च प्रणाली अपनाउन पनि उनले आह्वान गरेका छन्  ।
 

प्रतिक्रिया