राष्ट्रपतिले दाजुको हातबाट टीका लगाउने, सर्वसाधारणलाइ साढे ३ बजेदेखि टीका लगाइदिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन् ।

  राष्ट्रपति पौडेलले आज असोज २६ गते शनिबार दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

 विजया दशमीका उपलक्ष्यमा शनिबारै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३ः३० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीकाजमरा लगाइदिने कार्यक्रम छ । 

राष्ट्रपतिले दाइका हातबाट टीका लाउने

राष्ट्रपति पौडेलले बडा दशैं २०८१ का अवसरमा विजया दशमीको टीका ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट लगाउने जनाइएको छ । राष्ट्रपति पौडेलले दाजु डुण्डराजबाट यस वर्षको दशैंको टीका, प्रसाद, जमरा र आर्शिवाद ग्रहण गर्ने भएका हुन् । सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दशैंको टीका, जमरा र प्रसाद ग्रहण गर्नेछन् । 

राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बिहान यस वर्षको दशैंको शुभ साइत ११ बजेर ३६ बजे टीका र जमरा ग्रहण गर्ने कार्यक्रम रहेको छ  । सोही अवसरमा राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीकाजमरा लगाइदिने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
 

प्रतिक्रिया