विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस :  अध्यक्ष दाहाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौलिक पर्वभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै जानुपर्ने बताएका छन् ।

विजयादशमीका अवसरमा आज शुभकामना दिँदै दाहालले विद्यमान् रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिमार्जन आवश्यक भएको उल्लेख गरेका छन् । 

पूर्वप्रधानमन्त्री दाहालले दशैं पर्वलाई वर्षभरिको सबैभन्दा ठूलो उत्सव एवं पारिवारिक र सामाजिक पुनःमिलनको महत्वपूर्ण अवसरका रूपमा खुसियालीपूर्वक मनाउन सबैमा अपील पनि गरेका छन् ।

दशैंको पूर्वसन्ध्यामा आएको बाढीपहिरो र त्यसले निम्त्याएको भयानक विपत्तिबाट सिङ्गो देश आक्रान्त बनेको उल्लेख गर्दै अध्यक्ष दाहालले प्रभावित नागरिकलाई यथाशीघ्र राहत र पुनःस्थापना प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

अध्यक्ष दाहालले विजयदशमी २०८१ ले सम्पूर्ण नेपालीलाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, पारिवारिक पुनःमिलन एवं सङ्कटपूर्ण परिस्थितिको सामनासहित शोकलाई शक्तिमा बदल्न थप प्रेरणा र ऊर्जा प्रदान गर्ने विश्वासका साथ शुभकामना व्यक्त गरेका छन् ।
 

प्रतिक्रिया