विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन प्रधानमन्त्री ओलीको अनुरोध

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन अनुरोध गरेका छन् ।

विजया दशमी २०८१ को अवसरमा प्रधानमन्त्री ओलीले  भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैसे’ मिलाउन सबैलाई आह्वान समेत गरेका छन् । “जो जहाँ छौ, पीडामा परेकाहरुको पिडा हराउनका लागि सहयोगी हातहरु बढाउन आग्रह गर्छु”, प्रधानमन्त्रीले भनेका छन् ।

प्रधानमन्त्री ओलीले विपद्को घडीमा यसपालीको दशैंको टीका उल्लासपूर्ण हुन नसकेको समेत उल्लेख गरेका छन् । “विपद्को घडीमा यतिबेला मेरो मन भारी भइरहेको छ । भारी मनकासाथ दसैँको उल्लासमा रमाउनुपर्ने बेला हाम्रो दिदीबहिनी तथा दाजुभाइ रमाउन नसकिरहेको अवस्था र म पनि रमाउन सकिरहेको छैन”, प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, “दसैँअघि आएको भीषण बाढी र पहिरोका कारणले निर्दोष बालबालिका र असक्त जेष्ठ नागरिकहरुले जीवन गुमाउनुपर्यो । कति घाइते हुनुभयो, धेरै जनधनको क्षति भयो ।”

प्रधानमन्त्री ओलीले शुभकामना भिडियो सन्देश मार्फत सरकार प्रकोपपछिको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित रहेको जानकारी दिँदै आश्वस्त रहन आग्रह गरेका छन् । 

प्रधानमन्त्री ओलीले  आफू नेतृत्वको सरकार जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गर्दै प्रकोप प्रभावितलाई धैर्य धारण गर्न आग्रह समेत गरेका छन् । 
 

प्रतिक्रिया