पिङ निर्माणमा सक्रिय ८६ वर्षीय बुद्धिबहादुर

कास्की । जीवनको उत्तरार्धमा कास्कीको पोखरा–६ बैदामका ८६ वर्षीय बुद्धिबहादुर नेपाली परम्परागत संस्कतिको संरक्षण गर्न पिङ निर्माण समितिको संयोजक बनेर यतिबेला पिङ निर्माणमा जुट्नु भएको छ । उनले फेवाताल किनारमा २०१५ सालदेखि निरन्तर ४० वर्षसम्म पिङ निर्माण गरेका छन् । बुद्धिबहादुरकै नेतृत्वमा यतिबेला पोखराको फेवाताल किनारमा पिङ राखेर स्वदेशी तथा विदेशी पर्यटकलाई दशैंको मनोरञ्जन प्रदान गरेको छ ।

केही दशकयता उक्त स्थापनमा रोकिएको पिङ निर्माणलाई उन संयोजक बनेर यस वर्ष पिङ निर्माण गरेको हो । विसं २०१५ वर्षदेखि बुद्धिबहादुर नेपाली, अक्कलबहादुर भुजेल र बाबुलाल श्रेष्ठ मिलेर पर्यटकीय स्थल फेवातालको बाराही घाट नजिकैको चौरमा चम्रेली, रिङ्गटे, लठ्ठे र जाँचे पिङ राख्थे । विभिन्न कारणले केही दशकदेखि रोकिएको उक्त पिङ यस वर्ष फेरी निर्माण गरिएको छ । त्यतिबेला पिङ राख्ने तीनजनामध्ये हाल बुद्धिबहादुर मात्र जीवित छन् । उनहरुले निरन्तर पिङ राखेर बैदामवासीलाई मनोरञ्जन प्रदान गर्दै आएका छन् । तर फेवालात किनारमा पिङ राख्ने काम २० वर्षदेखि बन्द हुँदै आएको थियो । बन्द भएको कामलाई निरन्तरता दिन बुद्धिबहादुरको संयोजकत्वमा पिङ निर्माण समिति गठन गरी यस वर्ष बाराही घाटमा पिङ राखेका छन् ।

परम्परागत संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले उनले आफ्नै घरमा भएका पिङ सामग्री झिकेर ल्याई पिङ राख्नु भएको हो । “पिङका सामग्री मेरो घरमा बीस वर्षदेखि त्यसै थन्किएर बसेका थिए । यस वर्ष प्रयोगमा आए,” उनले भने । यस वर्ष पिङ निर्माणमा वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पनि चासो देखाएको बुद्धिबहादुरले बताए ।गाउँमा पिङ निर्माण भएपछि केटाकेटी खुसी हुनाका साथै दशैं आएको अनुभूति हुन्थ्यो, पिङ खेल्नकै लागि एक घण्टासमेत पालो कुरियो त्यही सम्झनामा केटाकेटीहरुलाई खुसी दिनका लागि आफू यो उमेरमा पनि पिङ निर्माण समितिको संयोजक भएर काम गरेको बुद्धिबहादुरले सुनाए ।

पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले परम्परागत संस्कृतिको जगेर्ना गर्न उक्त स्थानमा  विभिन्न प्रकारका पिङ राखिएको बताए। बाराही घाटको उक्त चौरमा धेरै वर्षदेखि पिङ राखिँदै आइएको र केही दशकदेखि रोकिएकाले यस वर्षदेखि निरन्तरता दिइएको बताए ।

स्थानीयवासी भरत पहारीले पिङ निर्माणसँगै सानो उमेर छँदा मनभित्र आएको खुसीको अनुभूति स्मरण भएको बताए । अहिले बजारमा जतासुुकै यस्ता पिङ बाह्रै सञ्चालन हुँदा केटाकेटी उमेर समूहलाई पनि दशैंको पिङको महत्व कम हुँदै गएको उनको भनाइ छ । कास्कीका गाउँहरुमा यस्ता पिङ राख्ने काम केही मात्रामा भए पनि सहरी क्षेत्रमा भने ह्वात्तै घटेको पहारीले बताए ।
 

प्रतिक्रिया