झापामा अस्थायी फलामे पुल निर्माण

झापा । हुलाकी राजमार्ग अन्तरगत झापा गाउँपालिका– ५ पन्थापाडास्थिति बिरिङ खोलामा अस्थायी फलामे पुल निर्माण भएको छ । असोज ११ गतेको वर्षापछि खोलामा आएको बाढीले बिरिङ पुलको बाटो कटान गरेको थियो । बाढीले पुलको पश्चिम साइटको २० मिटर जति भाग कटान गरी क्षति पुर्‍याउँदा आवतजावत बन्द भएको थियो । १५ दिनपछि आउजाउ सुरु भएपछि स्थानीय उत्साहित बनेका छन् । 

निर्माण व्यवसायी शेरबहादुर थापाको पहल र झापा गाउँपालिका–५ का वडाध्यक्ष कृष्णप्रसाद राजवंशी तथा स्थानीयको सहयोगमा अस्थायी फलामे पुल बनाइएको हो । निर्माण गरिएको फलामे पुल ६.५ फिटको चौडाइ र २४.५ मिटर लम्बाई रहेको छ । पुल निर्माण गर्न करिब ३ लाख खर्च भएको जनाइएको छ । उक्त पुलबाट आउजाउ बन्द भएसँगै बाह्रदशी, हल्दीबारी, झापा, कचनकवलका स्थानीयलाई समस्या परेको थियो । फलामे पुल सुचारु भएपछि पैदल यात्री, साइकल यात्री, मोटरसाइकल र अटोलाई चाडपर्वको बेला ठुलो राहत मिलेको छ ।
 

प्रतिक्रिया