विद्युतीय गाडी दोब्बरले बृद्धि

काठमाडौं । पछिल्लो समय नेपालमा पनि विद्युतीय सवारीको प्रयोग बढेको छ । डिजेल, पेट्रोल महंगिँदै जानु, राजमार्ग तथा स्तरीय होटल र पेट्रोलपम्पले समते चार्जिङ स्टेशन बनाउन थालेपछि विद्युतीय सवारी प्रयोग सहज भएको हो । भैरहवा भन्सार कार्यालयको पछिल्लो तथ्यांकअनुसार रुपन्देहीको बेलहिया नाका हुँदै विद्युतीय सवारी आयात दोब्बरले बृद्धि भएको छ ।

रुपन्देहीको बेलहिया नाका हुँदै चालु आर्थिक वर्षको पछिल्लो २ महिनामा मात्रै ४ सय २१ वटा विद्युती सवारी आयात भएको छ । भैरहवा भन्सार कार्यालयको तथ्यांकअनुसार गत वर्ष यो अवधिमा २ सय ६७ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएको थियो । गत वर्षको साउन, भदौ भन्दा चालु वर्षमा झण्डै दोब्बर सवारी आयात भएको छ ।

इन्धनबाट चल्ने कार, जीपमा भन्सार शुल्क ८० प्रतिशत, अन्तःशुल्क ६५ प्रतिशत, मुल्यअभिबृद्धि कर  १३ प्रतिशत र सडक सुधार कर १० प्रतिशत लाग्छ । कारजीप भ्यानको इन्जिन क्षमता र सिट संख्याका आधारमा महसुल लाग्छ । त्यसैगरी विद्युतीय कार जीपमा भने अधिकतम भन्सार शूल्क २० प्रतिशत, अन्तःशुल्क १५, मूल्य अभिवृद्धि कर १३ प्रतिशत र सडक सुधार कर ५ प्रतिशत लाग्ने गरेको छ ।

अधिकांश शुल्कहरु न्यून लाग्ने भएका कारण पनि विद्युतीय सवारीको बिक्री बढेको हो । नेपालका अन्य नाकाहरुबाट पनि विद्युतीय कार जीप बढी भित्रिरहेको तथ्यांकले देखाएको छ । बर्सेनि अर्बौको पेट्रोलियम पदार्थ आयात भइरहेका बेला विद्युतीय सवारीको प्रयोग बढ्दै जाँदा यसले पेट्रोलियम पदार्थको आयात कम गर्नमा सहयोग पुर्र्याएको छ ।

प्रतिक्रिया