दशैं सबैले मान्न सक्ने बनोस, शुभ विजया

 रामेश्वर सापकोटा

आज २०८१ सालको आम हिन्दूहरुको महान चाड बडा दशैंको मुख्य दिन  बिजया दशमी हो । यसलाई टीकाको दिन पनि भन्ने गरिन्छ । यो दिन आफ्ना मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरेर आशिर्वाद लिने गरिन्छ । 

हरेक चाडपर्व एवं सांस्कृतिक परम्परा हाम्रा राष्ट्रिय पहिचान हुन् । समाजमा खुशी र उमङ्ग ल्याउने काम चाड पर्वले गर्ने गरेका छन् ।  तर पछिल्ला समय यस्ता चाड पर्व खर्च गर्ने होडबाजीका रुपमा बिकसित हुन थालेका छन् । बडा दशै पनि त्यस्तै हुँदै जान थालेको छ । दशैं पर्वको  अनुसारका कर्म अहिले हुनै छाडेका छन् ।  जुनसुकै चाड जुनसुकै वर्गले पनि सहज रुपमा मनाउने वातावरण समाजमा निर्माण हुनुपर्छ । तर दशैं देखासिकी गर्ने पर्वको रुपमा बिकृत हुँदै गएको छ । नेपालमा दशैं अघिको बाढी पहिरोले ठूलो धनजनको क्षति भयो । हामी त्यो पीडाबाट मुक्त भइसकेका छैनौं । पीडामा परेका र पीडा व्यहोर्नेको अवस्था कल्पना गर्न सकिदैन । 

यही सेरोफेरोमा हामी यस वर्षको दशैं मनाइरहेका छौं । तर पनि जे–जस्तो र जुन अवस्थामा भएपनि वर्षमा एकपटक आउने पर्व मनाउने नै गरिन्छ । यद्यपि दशैं  सबैले मान्न सक्ने बनाउनु अहिलेको आवश्यकता हो । पछिल्लो समय दशैं हुने खानेले मात्रै मनाउने चाड होकि भन्ने हुन थालेको छ । दशैंमा हुनेखाने र हुँदा खाने बीचको दूरी झनझन बढ्दै गएको छ ।

हुने खानेहरूले वर्षभरि नै चाडवाड जस्तै मनाईरहेका हुन्छन्  । तर हुँदा खानेहरूले वर्षभरि जोरजाम गरेर वर्षमा एकपटक मनाउने चाडपर्वको महत्वसमेत घट्दै गएको छ । अहिले हुनेखानेका लागि  दशैं सकेको खर्च गर्ने अवसर बनेको छ ।  निम्छरा र गरिबका लागि कसरी दशैँ मनाउँने भन्ने स्थिति छ । 

अहिलेको समयमा दशैंजस्ता चाडपर्व धनीले मात्र मनाउने जस्तो बन्दै गएको छ । उनीहरुको खर्च गर्ने होडले कम आय भएका जनता मारमा पर्ने गरेका छन् । धनी वर्गले दशैमा खर्च गरेको देखेर कम आय भएकाहरु  ऋण गरेर भएपनि दशैं मनाउन हौसिने गरेका छन् । उहिले उहिले दशैं पारम्परिक शैलीमा मनाइन्थ्यो । अहिले दशैंको शैली फेरिएको छ ।  हिजो र आजको दशैंमा आनका तान फरक देखिन्छ । 

हिजो दशैं बोकिएर आउँथ्यो । या तुल्याएर जम्मा हुन्थे –माल सर्जामहरू । रातो माटोले घर लिपिन्थ्यो । कमेरो छेपिन्थ्यो । अहिले दशैंमा बजारमा राखिएका सामग्री किन्ने गरिन्छ । तुल्याउने संस्कार हराउँदै जान थालेको छ । 

भनिन्छ –दशैंले नेपाली अर्थतन्त्रको कूल बजेटमध्ये एक तिहाई बजेट खर्च गर्ने गर्छ । त्यसैले दशैंले अर्थतन्त्रलाई नै चलायमान बनाउने गर्दछ । हलोदेखि हाइड्रोसम्म, साइकलदेखि हेलिकोप्टसम्म सबै सबैको बजार र बजेटसमेत दशैंका निहूँमा आकासिन्छ । 

खानपान, लत्ताकपडा, मदिरा, खाद्यान्न, यातायात र माछामासु समेत यो समयमा धेरै विक्री हुन्छन् । त्यसैले दशैंलाई हिन्दू धर्मावलम्बीहरूले मान्ने चाडहरूमा सबैभन्दा धेरै अर्थतन्त्र चलायमान गर्ने चाडका रुपमा लिइन्छ । हिजोको जमानामा दशैंका बारेमा धेरै पक्षबाट मानिसहरू हेर्थे । व्याख्या गर्थे । तर अहिले दशैंको रौंनक नै फेरियो । दशैंको अर्थशास्त्र पूरै बद्लिएको अवस्था छ । हिजो गाउँ घरमै दमाई बोलाएर दशैंका कपडा सिलाइन्थे । त्यसको रौनक नै फरक थियो । अहिले सहर बजारमा टेलर्स र सर्टिङ् एन्ड सुर्टिङ्मा कपडा सिलाउने जमाना आएको छ । अझ रेडिमेडका कपडाहरूले बजार पिटेको पाइन्छ । अहिले बालीघरे दमाईहरू गाउँघरमा समेत लोप भैसकेका छन् ।

दशैं जस्ता चोखा चाडहरू समेत अनेक भाउँतोमा परेर बिटुलिएका छन् ।  उ बेला लिङ्गे पिंङ गाउँका बीचमा हालिन्थ्यो । पहाडतिर रोटेपिंङ, जाँते पिंङ र घरका दलान या पिंडीमा बनाइने सानातिना पिंङले उधुमै प्राथमिकता पाउँथे । अब त्यो जमाना रहेन । सक्नेले फलामकै पिंङ घरघरमा जडान गरेका छन् । अहिले सरजाम जोडेर दशैंका लागि खानेकुरा तयार गर्ने चलन मेटिदै जान थालेको छ । अब दशैं घटस्थापनाका दिन आउँदैन । फूलपातीका दिनदेखि जब विदा सुरु हुन्छ अनि मात्र आउँछ ।

प्लास्टिकका झोलामा बेसाहा गरेर ल्याएका चिजबिज र सामग्रीले दशैं मान्ने नेपालीहरू बढ्न थाले । त्यतिमात्रै होइन टिका लगाइदिएर दक्षिणा प्रविधिको प्रयोगले  ट्रान्सफर गर्ने दिन आए । दशैँ फरक भयो । स्काइपमा टिको लगाउने र ल्यापटपको स्क्रिन छुने अनि आफन्तलाई प्रविधिमै ‘ढोग’ गरेर आर्शिवाद लिने चलन बढ्न थालेको छ । 

समाजको निम्न र निम्छरो वर्गलाई यस्ता पर्व सधैँभरि चिन्ताको विषय बन्छ । यस्ता पर्वमा हुनेखाने वर्गले गर्ने खर्च र तडकभडकका कारण हुँदाखाने वर्गका लागि अभिशाप हुनुका कारणमा कसरी खर्च गरौँ  भन्ने नै हो । चाडबाड मान्नका लागि ऋण लिनुपर्ने र मानेपछि ऋण तिर्न विदेशिनुपर्ने अवस्थामा रहेको नेपाली समाजलाई हालसम्म राज्यको कुनै पनि नीति कार्यक्रमले छुन सकेको छैन ।

दशैं खासगरी अन्यायमाथि न्यायको, अधर्ममाथि धर्मको, पापमाथि पुन्यको, व्यभिचारमाथि सदाचारको र अन्धकारमाथि प्रकाशको विजयको पर्व हो । यसलाई कम खर्चमा धेरै आनन्द कसरी प्राप्त गर्न सकिन्छ भन्ने त्यो  हेरेर मात्र हामीले पाइला चाल्नु पर्छ । उत्सवका समयमा हुने गरेका प्रतिस्पर्धा र देखासिकीले समाज विकृति र विसङ्गतितर्फ धकेलिन्छ ।आफ्ना सबै दुःख पीडा भुलेर सडक,सवारी साधनको समस्याका बावजुद १३ लाख भन्दा बढी मानिस उत्साहका साथ दशै मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् 

आउँदा वर्षहरुमा दशैं सबैले आफ्ना हैसियत र औकात अनुसार मान्ने र मनाउन सक्ने अवस्थाको सिर्जना हुनुपर्छ ।  अनिमात्रै यसको महत्व अझ बढ्नेछ । देश विदेश जहाँ भएपनि दशैं आफ्नो हैसियत अनुसार मनाऔं । मान्यजनबाट आशीर्वाद लिऔं । बिजया दशमीको शुभकामना ।
 

प्रतिक्रिया