क्षत्रिय कुलका राजा विश्वामित्र कसरी ब्रह्मर्षि विश्वामित्र भए ?
वैदिककालमा सबै समान थिए भनिन् छ ।
वैदिक सभ्यतालाई परिमार्जन गरेको कुरा पुराणहरुले भनेका छन् । पुराणहरुलाई पञ्चम वेद किन भनेको रे भने वेद सूत्रबद्ध रुपमा थियो, त्यसको विषद व्याख्या गर्न र उदाहरण सहित व्यावहारिक रुपमा स्पष्ट पार्न पुराणहरु मार्फत् सचेत गराइएको मानिन्छ । श्रीमद्भगवत गीतालाई उपनिषद्को मर्मलाई व्याख्यात्मक तरिकाले बताइएको र श्रीकृष्णले विश्वरुप देखाउन तयार गरिएको मानिन्छ । अतः पौराणिक कालमा सभ्यताको जुन विकास भएको मानिन्छ, त्यही कुरा पुराणले जनतासमक्ष प्रस्तुत गरेको हो जसलाई शौनकादि ऋषिहरुले संसारभर प्रचार गरे ।
वैदिककाल होस् या पौराणिककाल होस्, त्यसबेलामा सबै मानिसहरु आपसमा बराबरी थिए , समान थिए । त्यो बेलामा कोही ठुलो र सानो मानिँदैन थियो । तपस्याका बलले आर्जित क्षमता अर्थात् अनुसन्धानको ज्योतिले समाजमा व्याप्त अन्धकार हटाउन सक्ने मानिस नै ऋषि मानिन्थ्यो । जन्मले भन्दा कर्मले मानिसको मूल्याङ्कन गरिन्थ्यो ।
मानिसहरुको अवस्थालाई उनीहरुको कर्मका आधारमा विभाजित गरिएको हुन्थ्यो । शरशय्यामा सुतिरहेका भीष्म पितामहलाई महाराज युधिष्ठिरले विनम्रताका साथ सोधे—पितामह, कर्म र भाग्यमा कुन श्रेष्ठ हो ? अर्थात् दैव(भाग्य) र पुरुषार्थमा कुन श्रेष्ठ हो ? भीष्म पितामहले पनि पुरानो प्रसङ्ग जोडेर यही कुरा कुनै बेलामा लोक पितामह ब्रह्माजीसँग उनकै मानस पुत्र महर्षि वशिष्ठले सोधेका रहेछन्—भगवन्, प्रारब्ध र मनुष्यको प्रयत्नमा कुन श्रेष्ठ हो ?
ब्रह्माजीले भनेछन्—विना बीजले केही पनि उत्पादन या पैदा हुन सक्दैन । वीजले नै वीज उत्पन्न गर्छ, अनि त्यही वनस्पतिमा पूmल फुल्छ अनि त्यसैमा फेरि फल लाग्छ, त्यही फलमा वीज रहन्छ , यो क्रम निरन्तर रहन्छ । किसान खेतमा जे रोप्छ, त्यही फलाउँछ, त्यही फल्छ । त्यही अनुसार फल प्राप्त हुने हो । यसैप्रकार पाप या पुण्य जे गरेको छ, त्यही प्राप्त हुने हो । जसरी कुनै वीज नछरी या नरोपी कुनै फल प्राप्त गर्न सकिँदैन, त्यस्तै हो कर्म विना प्रारब्धले मात्र केही हुँदैन । प्रारब्धले पनि विना पुरुषार्थ केही दिन सक्दैन । दैव या भाग्यले के पो गर्न सक्छ र ? त्यसैले कर्म गर्नेले मात्र राम्रो या नराम्रो आफैँ भोग्ने हो । भाग्य भनेको फल प्राप्त गर्ने र त्यसको गूढार्थ मात्र हो । फल प्राप्त गर्न त कर्म गर्नैपर्छ , कर्म नै छैन भने प्रारब्धले कसरी फल दिन सक्छ र ?
पुरुषार्थी मानिसको मात्र वा कर्मशील व्यक्तिको मात्र प्रारब्ध बन्न सक्छ , प्रारब्ध छ भन्ने कुरा पनि कर्मले मात्र देखाउँछ । विना कर्म प्रारब्ध कसरी कुनै मानिसको छेउमा आउन सक्छ र ? त्यसैले हे वशिष्ठ, पुरुषार्थ र भाग्यमा जहिले पनि पुरुषार्थ नै श्रेष्ठ हो । व्यक्ति जन्मंदै केही पनि हुँदैन, कर्मका आधारमा उसको जात या श्रेणी विभाजित हुँदै जाने हो । उसको क्षमताका आधारमा र कर्मका आधारमा ब्राह्मण, क्षत्री , वैश्य या शूद्र भनेर विभाजित गरिने हो । कर्मले वर्गको निर्धारण गर्ने हुन्थ्यो ।
अनि युधिष्ठिरले सोध्ने नै भए कि कसरी पुरुषार्थले भाग्यको निर्धारण गर्छ र ? भीष्म पितामहले क्षत्रीको कुलमा जन्मेका राजा विश्वामित्र पछि कर्मशीलका कारणले ब्राह्मण योनिमा परिवर्तन भएका थिए भनेर युधिष्ठिरलाई सम्झाएका थिए । कर्मले प्रारब्धलाई डोहोर्याएको हुन्छ भन्ने मान्यतामा भीष्म पितामह देखिन्छन् । प्रारब्धले कर्म गर्नका लागि प्रेरित सम्म गर्ने हो ।
आजभन्दा पाँच हजार वर्ष अघिको समाजलाई आजको समाजको चेतना र वर्गीय समताको आधारमा दाँज्न मिल्दैन तर आजभन्दा पनि त्यो बेलामा , महाभारतकालीन समाजमा सामाजिक परिवेश झन प्रगतिशील देखिन्छ । त्यो बेलामा मानिसलाई कुलको आधारमा विभाजित गर्दा पनि उसको क्षमतालाई ध्यानमा राखेर उसको कर्मका आधारमा उसलाई ब्राह्मण,क्षत्री, वैश्य या शूद्रका रुपमा श्रेणीबद्ध गरिएको हुन्थ्यो ।
राजा हरिश्चन्द्रले जब चाण्डाल गर्ने कामको अर्थात् मसान घाटमा आएका शवहरु गड्न या जलाउने कामको जिम्मा पाएका थिए, त्यो बेलामा उनको गणना चाण्डालको रुपमा भएको थियो । हाम्रो क्षेत्रमा ब्राह्मण, क्षेत्री , वैश्य र शूद्र भनेर मानिसहरुलाई चार श्रेणीमा बाँडिएको रहेछ । यो चलन मान्ने भनेको हाम्रो क्षेत्रमा हो र संसारभर जहाँ जहाँ विजय पताका फैलाएको पाइन्छ पौराणिककालमा, ती ठाउँहरुमा सनातन धर्म मान्नेहरु, वैदिक धर्म मान्नेहरुमा यो जातीय श्रेणी रहेछ, जसको बाछिटा आजसम्म पनि बाँकी छ ।
त्यतिमात्र होइन, आज त सामाजिक न्यायका नाममा जातीय विभाजन गरेर आरक्षणको व्यवस्था गरिएको छ । त्यसो हुनुमा चाहिँ हिजोका दिनमा भएको असामाजिक कार्यको क्षतिपूर्तिका लागि हो । जातीय परम्पराले रोपेको विषको वीज आजसम्म हाम्रो समाजमा छँदैछ र जन्मका आधारमा अझै पनि हाम्रो समाजमा जातीय पहिचान छ जवकि मानिस सबै एकै हुन् भन्ने आधारभूत मानव अधिकारका आधारमा राज्यले व्यवहार गर्छ,विभेद गर्न पाइँदैन भन्ने सिद्धान्त प्रतिपादित गरिएको छ संविधानका धाराहरुमार्फत् , मौलिक अधिकारहरुमार्फत् । सकारात्मक विभेदको कथाले पनि सीमा नाघेको छ र एउटै परिवारमात्र बारम्बार सुविधामा परेको छ भन्ने सामाजिक गुनासो व्याप्त छ ।
युधिष्ठिरले पनि त्यसबेलाको राजनीतिलाई कसरी समानताका आधारमा सञ्चालन गर्ने भन्ने जिज्ञासा लिएर भीष्म पितामहसमक्ष गएका थिए । पितामहले पनि कर्मले कसरी विश्वामित्र क्षत्रिय कुलमा जन्मेर पनि ब्राह्मणत्व प्राप्त गरेर राजर्षिका रुपमा गणना भए भन्ने उदाहरणीय प्रसङ्ग व्यक्त गरेका छन् । त्यसो त राजनीतिक जटिलताले र मानवीय मूल्याङ्कनको जटिलताले व्यक्तिको वस्तुगत मूल्याङ्कन हुन नसक्ने भएपछि कुलका आधारमा र त्यो कुलको सदस्यका नाताले जातिको गणना हुन थालेको पाइन्छ । त्रेतायुग र द्वापरयुगसम्म आउँदा जन्मका आधारमा जातिको गणना गर्ने सहज तरिका अपनाएको देखिन्छ । त्यसैको पृष्ठभूमिमा युधिष्ठिरले सोधेका छन्—पितामह, ब्राह्मणले ब्राह्मणीसँग विवाह गरेर जन्मेका बाहेक अरु क्षत्री, वैश्य र शूद् कसरी ब्राह्मण योनीमा परिवर्तन हुन सक्थे र ? महात्मा विश्वामित्र कसरी क्षत्रिय कुलमा जन्मेर पनि ब्राह्मण भए ?
युधिष्ठिरको यो प्रश्न र पितामहको उत्तर महाभारतको अनुशासन पर्वमा पाइन्छ । पितामहले पनि तत्कालीन राज्य परिचालनको परम्परालाई स्पष्ट पार्न भन्न थाले —हे युधिष्ठिर , सुन क्षत्रिय कुलमा जन्मेर , राजाको छोरा राजा विश्वामित्र पछि कसरी ब्रह्मर्षि भए भनेर । भरत वंशमा एक अजमीढ नामका राजा थिए, उनको छोरो जन्हु भए जसले गङ्गाजीलाई आफ्नो छोरी बनाएका थिए ( त्यसैले गङ्गाजीको नाम जान्हवी भएको हुनुपर्छ), जन्हुका छोरा सिन्धुदीप,सिन्धुदीपका छोरा बलाकाश्व, उनको छोरो बल्लभ भए जो धर्मराज जस्तै न्यायी थिए , धर्मभीरु थिए । बल्लभका छोरा कुशिक तथा कुशिकका छोरा महाराज गाधि भए । महाराज गाधिका कुनै पुत्र थिएनन् , उनले वनमा गएर यज्ञानुष्ठान गर्थे पुत्रप्राप्तिका लागि ।
तर यज्ञका प्रतापले छोरो होइन, सुन्दर छोरी जन्मिइन् जसको नाम सत्यवती थियो । अनुपम सुन्दरी राजकन्या सत्यवतीको रुप त्यो बेलामा यति चर्चामा थियो कि च्यवन ऋषिका पुत्र ऋषि ऋचीकले गाधि महाराजसँग उनको हात मागे । गाधि महाराजले पनि ऋषि ऋचीकसँग एकहजार श्यामकर्णे घोडाको माग गरे शुल्कका रुपमा छोरीको विवाह गर्नका लागि । महान ऋषि च्यवनपुत्र ऋचीकले पनि भगवान वरुणसँग आफ्नो अप्ठेरो देखाएर त्यस्ता एकहजार श्यामकर्णे घोडा मागे जो वायुको जस्तो गतिमा दौडन सकून्, चन्द्रमा समान कान्तिवान हून् र एउटा कानचाहिँ निख्खरा कालो होस् भनेर जलका स्वामी अदितिनन्दन वरुण देवतासँग उनले मागे ।
जलका स्वामी अदितिनन्दन वरुणले पनि ऋषि ऋचीकले चाहेको बेलामा घोडा आपैmँ आउने वरदान दिए अर्थात् घोडा दिए । श्यामकर्णे घोडा कस्ता हुन्थे भने सम्पूर्ण शरीर चन्द्रमाको जस्तो श्वेत रुपमा तर एउटा कानमात्र कालो हुन्थ्यो । त्यसपछि मुनि ऋचीकले कुनै स्थानमा पुगेपछि घोडाको लागि वरुण देवताको ध्यान गरे, नभन्दै एकहजार श्यामकर्णे घोडा प्रकट भए जसलाई आज पनि अश्वतीर्थ भनिन्छ ।
वास्तवमा महाराज गाधिले सम्झेका थिए कि युवा ऋषिले कसरी यो अप्ठेरो सर्त पूरा गर्लान् र ? यदि सर्त पूरा गर्न नसके त आफ्नी अति सुन्दर छोरी उनलाई दिनै परेन । तर जब एकहजार श्यामकर्णे घोडा शुल्कस्वरुप मुनि ऋचीकले महाराज गाधिलाई सुम्पिए,उनले ऋषिको श्रापबाट बच्न छोरीको विवाह युवा ऋषिसँग गरे, ब्रह्मर्षिले पनि वैदिक विधिअनुसार सत्यवतीको पाणिग्रहण गरे र महाराजा गाधिले पनि छोरीलाई विभिन्न आभूषण सहित ब्रह्मर्षिको घरमा पठाए ।
क्षमतावान, तपस्वी मुनि पाएपछि राजकुमारी पनि बहुत खुसी भइन् र उनले पनि ऋषि ऋचीकलाई खुसी तुल्याइन् । एकदिन ऋषि खुसी भएर सत्यवतीलाई वरदान दिनका लागि वरदान माग्न उत्प्रेरित गरे । सत्यवती खुसी भएर आमालाई सबैकुरा भन्न गइन्, माता हजुरका ज्वाईँ मुनि ऋचीक खुसी भएर मलाई वरदान माग्न भन्नु भएको छ , के मागौँ ? महारानीले भनिन् , तपस्वी ऋषिले जे पनि दिन सक्छन्, त्यसैले मेरा लागि पनि एउटा छोरो माग्नु पर्ने जस्तो छ , त्यही माग्दे न त मलाई चाहिँ एउटा छोरो । तत्काल सत्यवती ऋषि समक्ष गइन् र वरदानका लागि आफूलाई र आमालाई एउटा एउटा छोरो वरदानका रुपमा दिन आशीर्वाद मागिन् । ऋषिले पनि बुझे, त्यसैले उनले भने —तिम्रो लागि दिने वरदान सफल हुनेछ , माताका लागि पनि मैले दिएको वरदान सफल सिद्ध हुनेछ । मेरा वरदानका कृपाले तिमीले पनि छोरो पाउने छौ, महारानीले पनि छोरो पाउनु हुनेछ ।
मैले आमा र छोरीको लागि फरक फरक चरुको व्यवस्था गरेको छु । ऋतुस्नानपछि मैले दिएको चरु खाएर तिमीले गुलरको रुखमा अंकमाल गर्नू र मातालाई मैले दिएको चरु खाएर पिपलको रुखलाई अंकमाल गर्नू भन्दै चरुसमेत सत्यवतीलाई सुम्पिए ।
खुसी हुँदै आमालाई सबै कुरा सुनाइन् र चरु पनि दिइन् । तर महारानीले छोरीलाई भनिन् , छोरी पक्कै पनि तिमीलाई दिएको चरु अरु राम्रो होला , त्यसैले तिमी र म साटौँ , तिम्रो चरु म खान्छु र गुलरको रुखमा अंकमाल गर्छु र तिमीले मेरो भागको चरु खाऊ र पिपलको रुखमा अंकमाल गर । आमाको भनाइलाई छोरीले नाइँ भन्न सकिनन् र कसरी पो थाहा होला ऋषिलाई भन्ने नै पर्यो होला ।
तर सिद्धिप्राप्ति गरेका ऋषि ऋचीकले सत्यवतीको हाउभाउ र उनको शरीरबाट आउने तेजलाई विचार गर्दा खिन्न भएर भने , तिमीले गल्ती गरिसकेको थाहा पाएँ किनभने मैले तिम्रो चरुमा ब्रह्मतेजको व्यवस्था गरेको थिएँ र महारानीको चरुमा क्षत्रिय तेजको क्षमता संग्रहित गरेर दिएको थिएँ । अब तिम्रो पेटबाट क्षत्रिय तेजको छोरो जन्मने छ र माताको पेटबाट ब्रह्मतेजसहितको बालक जन्मने छ र पछि कर्म र पुरुषार्थ गरेर क्षत्रीबाट ब्राह्मण हुनेछ र तिम्रो सन्तानचाहिँ क्षत्रिय गुणसहितको हुनेछ ।
सत्यवती अब रुन कराउन थालिन् र पतिसँग माफी माग्दै मेरो छोरो ब्रह्मतेजकै होस्, ब्राह्मणको जस्तै कर्म गरोस् भन्ने वरदान माग्न थालिन् । अनि मुनि ऋचीकले भने , मेरो ध्यान र तपस्याको फल खेर त जाँदैन , ठिकै छ तिम्रो छोरोचाहिँ ब्राह्मणजस्तै होला तर उसको छोरोचाहिँ क्षत्रिय तेजयुक्त हुनेछ । तर तिम्रो भाइचाहिँ क्षत्रीबाट ब्राह्मणमा आफ्नो कर्मका बलले पदार्पण गर्नेछ । ऋचीक ऋषिका छोरा यमदग्नि चाहिँ ब्राह्मण नै व्यवहार गर्ने भए तर यमदग्नि पुत्र परशुराममा क्षत्रिय स्वभाव आयो र २१ पटकसम्म विश्व घुमेर क्षत्रीहरुको नाश गरे । तर विश्वामित्रले सय्यौँ वर्ष तपस्या गरेर आफ्नो क्षत्रिय योनिबाट ब्राह्मण योनिमा आफूलाई लैजान सफल भए । कर्मको कारणले विश्वामित्र क्षत्रीबाट ब्राह्मण हुन सकेका हुन् । त्यसपछि विश्वामित्रका सन्तानहरु सबै नै ब्राह्मणको कुलका रुपमा स्थापित भए ।
युधिष्ठिरलाई भीष्म पितामहले भन्छन्, हे युधिष्ठिर पुरुषार्थले भाग्यलाई डो¥याउँछ । जस्तो कि विश्वामित्रले पुरुषार्थले र भाग्यको या प्रारब्धको खेलले ब्राह्मण हुने मौका पाए , यदि पछि पनि ब्राह्मणले गर्ने कर्तव्य नगरेका भए क्षत्रीबाट ब्राह्मणमा पदार्पण हुने थिएनन्।
उपर्युक्त पौराणिक उदाहरण र आख्यानबाट के कुराको जानकारी पाइन्छ भने , सन्देश दिइएको पाइन्छ भने जन्मदाको कारणले भन्दा पनि कर्मको कारणले भाग्यलाई पनि बदल्न सक्रिन्छ । भाग्यले कर्म गर्न प्रेरणा दिन्छ तर त्यो प्रेरणा क्षणिक हुन्छ, सङ्केत थाहा पाउन सक्नुपर्छ ।
प्रतिक्रिया