गोरखा दरबारको दशैंघरमा फूलपाती भित्र्याइयो

गोरखा । गोरखा दरबारस्थित दसैँघरमा परम्पराअनुसार आज विधिपूर्वक फूलपाती भित्र्याइएको  छ । साँझको शुभ साइतमा हर्ष बढाइँका साथ गोरखा दरबारमा फूलपाती  भित्र्याइएको गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए ।

आज गोरखा दरबारबाट निस्किएको लावा लस्करसहितको टोलीले तल्लोकोटस्थित फूलपाती चौतारबाट लगिएको फूलपाती दरबारको दसैँघरमा   भित्र्याइएको उनले बताए । गोरखा दरबारका सुसारेले जङ्गलबाट जम्मा गरेको फूलपाती लिन दशैंघरदेखि दरबारका सुसारे, नेपाली सेना, नेपाल प्रहरी, सरकारी कर्मचारी, स्थानीयवासीलगायत टोली लावा लस्करसहित तल्लोकोट सतिपिपल डाँडामा पुगेका थिए । ‘‘गए राति जङ्गलबाट ल्याएको दारिक, बेलको पात, उखुको बोट, केराको पात, अदुवाको बोट र मौसमी फलफूललाई फूलपातीको रूपमा परम्पराअनुसार दशैंघरमा भित्र्याइएको हो”, मूलपुजारी भट्टराईले भने ।

फूलपाती  भित्र्याउन पूर्व गोरखा दरबारदेखि मङ्गलिनीहरूले मङ्गल गीत र मालश्री राग गाउँदै बन्दुकेहरूले हर्ष बढाइँ गर्दै र भारवाहकहरू फूलपानी पर्सने सिडीसम्म पुगेका थिए । गोरखा दरबारको सिडीमा विशेष पूजा गरेर दरबारमा फूलपाती  भित्र्याउने प्रचलन रहँदै आएको मूलपुजारी भट्टराईले बताए ।गोरखा दरबारमा हरेक वर्ष रवानबाट पश्चिम क्षेत्रका डाँडामा आधा घाम तल र आधा घाममाथि देखिने समयमा दरबारको दशैंघरमा फूलपाती भित्र्याउने गरिन्छ । यसअघि आज बिहान गोरखा दरबारको दशैंघरबाट काठमाडौँको हनुमान ढोका दरबारमा फूलपाती पठाइएको थियो ।
 

प्रतिक्रिया