सभामुख घिमिरेको दशै संझना : बाल्यकालमा दुई पैसा दक्षिणा पाउँदा खुशी,ढिकीमा चिउरा कुटेपछि दशै लाग्थ्यो (भिडियो कुराकानी)


काठमाडौं । देवराज घिमिरे प्रतिनिधि सभाका सभामुख हुन् । उनी २०७९ मंसिरमा  भएको  आम निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । सोही वर्षको माघ ५ मा उनी प्रतिनिधि सभाका सभामुख भएका हुन् ।

बिद्यार्थीकालदेखि नै राजनीतिमा लागेका घिमिरे त्यतिबेला नेकपा एमालेको पार्टी संगठनमा बिभिन्न पदमा रहेर काम गरिसकेका छन् । सभामुख भएपछि भने उनी पार्टीको कुनै पनि जिम्मेवारीमा छैनन् । किनकि सभामुख स्वतन्त्र र निष्पक्ष भूमिकामा हुनुपर्छ भन्ने मान्यता छ ।  ६८ वर्षिय घिमिरे बि.सं २०१३ मा ताप्लेजुङमा जन्मिएका हुन् । 

अहिले नेपालीहरु सम्पूर्ण पीडा,दुःख कष्ट बिर्सेर महत्वपूर्ण चाड दशैं मनाइरहेका छन् । सबैले दशैं मनाउँदै गर्दा एभिन्यूजसँगको दशैं सम्वादमा घिमिरेले पनि आफूले अरु सर्वसाधारण नेपाली नारिकले जस्तै गरी दशैं मनाउने गरेको बताए । 

पछिल्लो समय सभामुख पदको भूमिका,जिम्मेवारी लगायतले व्यस्त भएपनि दशैं आउने बित्तिकै उनलाई बाल्यकालको याद आउँछ । दशैंको चहलपहलले आफ्नो बाल्यावस्थाका सारा कुरा एकफेर ताजा बनाइदिने उनले बताए । उनले भने “ढिकीमा  चिउरा कुट्न थालेपछि र घरमा नयाँ लुगा सिलाउन दमाई आएपछि दशैं आएको जस्तो हुन्थ्यो । अहिले त तयारी  चिउरा किन्न पाइन्छ, लुगा पनि टेलरिङबाट तयार हुन्छ । अहिलेको दशैं र उहीलेको दशैंमा धेरै भिन्नता छ ।”

बाल्यकालमा मामाघर जाँदा घिमिरेले दुई पैसा दक्षिणा पाएका थिए । उनलाई त्यो अहिले पनि याद छ । आफूले थाहा पाउँदा पहिलो पल्ट पाएको दक्षिणा त्यही थियो । घिमिरेले परिवारमा अहिले ९३ वर्षीया आमा भिम कुमारी,श्रीमति टिकादेवी र दुइजना छोरा छन् । एक जना छोराको बिहे भैसकेको छ भने अर्काे छोराको बिहे भएको छैन । उनको व्यस्ततामा दशैं,तिहार लगायत चाड पर्वमा चाडपर्वका बेला टार्ने, पुर्‍याउने, सर सामग्री तयार पार्ने काम श्रीमति टिकादेवीले गर्ने गर्छिन् । दशैंको बेला सभामुख घिमिरेको घरमा आफन्त जनको निकै भीडभाड हुने गर्छ । ९३ वर्षीया आमा भिम कुमारीको हातबाट टीका थाप्ने धेरै हुन्छन् । अब अहिले त उनी  सभामुख पनि छन् त्यो पदलाई हेरेर टीका र आशीर्वाद थाप्न आउने नै भए । 

सभामुख घिमिरेका अनुसार दशैं नेपालीहरूको विशेष चाड हो । यो राष्ट्रिय पर्व र संस्कृति भएकाले पारिवारिक पुनर्मिलन र जमघटको रूपमा  यसलाई लिइनु पर्छ । यसलाई फजुल खर्च गर्ने रुपमा मनाइनु हुँदैन । गच्छे अनुसार मनाउनु पर्छ । गाउँको दशैं असाध्यै रमाइले हुने घिमिरेको भनाई छ । “गाउँमा पहिला दशैंका बेला चोकमा र चौतारमा पिङ खेल्नेहरुको भीड लाग्यो । तर अहिले त्यो बेला जस्तो छैन ।” उनले भने । 

देश र समाजमा परिवर्तन ल्याउनका लागि राजनीतिमा लाग्दा धेरै वर्ष आफ्ना बुबा आमाको हातबाट टीका लगाउन नपाएको उनले बताए । “त्यतिबेला पंचायती शासन ब्यवस्था भएकाले खुल्लम खुला हिड्न पाइदैनथ्यो । सुराकी लाग्थे,तैपनि जनताले भने निकै माया गर्थे जहाँ हुन्थ्यौं हामी त्यही जनताले टीका लगाइ दिन्थे ”। सभामुख घिमिरेले भने । भिमिरेका अनुसार बाल्यकालमा नयाँ लुगा लगाउने,खसी काट्ने,मिठो मसिनो खाने भन्ने कुरा दशैं बेला मात्रै हुन्थ्यो ।

अहिले त जे सुकै सामान पैसा भएपछि जुनसुकै बेला पनि किन्न पाइन्छ । त्यतिबेला पैसा भएपनि खर्च गर्ने ठाउँ थिएन ।  सभामुख घिमिरे देशको नीति निर्माण गर्ने थलो प्रतिनिधि सभाका मियो अर्थात प्रमुख ब्यक्ति हुन् । उनी त्यो भूमिकामा रहेका कारण दशैं काठमाडौंमै मनाइरहेका छन् । घरमा आउने चेलीबेटी, भान्जाभान्जी, आफन्त लगायत लाई प्रबन्ध गर्ने काम उनकी श्रीमती र छोराले गर्ने गरेका छन् । त्यसमा सभामुख घिमिरेको पनि सहयोग रहने गरेको छ । 

घिमिरेसँग दशैंका बारेमा गरिएको बाँकी सम्वाद सुन्न तलको भिडियो क्लिक गर्नुहोस् ।

 

प्रतिक्रिया