म्याग्दीको विकट डाँडागाउँमा स्वास्थ्यचौकीको भवन निर्माण

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँमा स्वास्थ्यचौकीको भवन निर्माण भएको छ । सङ्घीय सरकारको विशेष अनुदानमा मालिका गाउँपालिकाले रु एक करोड ५९ लाख ८३ हजार सात सय ७२ को लागतमा स्वास्थ्य चौकीको भवन निर्माण गरेको हो । 

गत दुई आर्थिक वर्षमा फरकफरक ठेक्कामार्फत भवन निर्माण गरिएको मालिका गाउँपालिकाका प्राविधिक शाखा प्रमुख दीपक सापकोटाले बताए ।  “पहिलो पटकको ठेक्कामार्फत जग्गा व्यवस्थापन र पहिलो तलाको संरचना निर्माण भएको थियो”, उनले भने, “दोस्रो ठेक्काबाट दुईतले भवन निर्माणलाई पूर्णता दिइएको हो ।” भवन परिसरमा घेराबार, फर्निचर, प्रवेशद्वारलगायत संरचना बनाउन चालु आर्थिक वर्ष २०८१र८२ मा रु एक करोड बजेट प्राप्त भएको छ । रु एक करोड बजेट विनियोजन भएको आर्थिक वर्ष २०८०र८१ मा रु ८६ लाख ४३ हजार दुई सय ३८ मा ठेक्का सम्झौता गरेको ओमेन ओस्कार निर्माण सेवाले रु ८५ लाख ७३ हजार तीन सय ३५ भुक्तानी पाएको थियो । 

आव २०७९र८० मा रु एक करोड बजेट विनियोजन भएकामा सोही निर्माण कम्पनीले रु ७५ लाख ८६ हजार सात सय ७१ सम्झौता गरेको र रु ७४ लाख १० हजार चार सय ३७ भुक्तानी लगेको गाउँपालिकाले जनाएको छ ।   

भुई तलामा स्वास्थ्यकर्मी, उपचार, औषधि भण्डारण, सहायता, कार्यालय प्रमुखको कक्ष, सभाहल भएको भवनको पहिलो तलामा दुई परिवारका लागि आवास कोठा छन् । नयाँ भवनबाट स्वास्थ्यचौकीको सेवा सञ्चालनको तयारी गरिएको वडाध्यक्ष मोतिप्रसाद बुढाथोकीले बताए ।  

“हाल साँघुरो कोठा भएको कच्ची भवनबाट स्वास्थ्यचौकी सञ्चालन हुँदै आएको छ”, उनले भने, “सुविधासम्पन्न भवन बनेपछि सेवा प्रवाह सहज हुनेछ ।” सात वटा वडा रहेको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा आधारभूत अस्पताल र अन्य वडामा स्वास्थ्यचौकी छन् । वडा नं १ निस्कोटबाहेकको स्वास्थ्यचौकीको भवन निर्माण सकिएको छ । निस्कोटमा सहरी विकास मन्त्रालयमार्फत स्वास्थ्यचौकी भवन निर्माणको तयारी भएको छ । 
 

प्रतिक्रिया